काठमाडौं । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक ६ दिनपछि सञ्चालनमा आएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा खसेको पहिरो र स्थानीयबासीको अवरोधका कारण साउन १८ गतेदेखि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक बन्द भएको थियो ।
शनिबार साँझदेखि यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ । म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले आयोजनाले सडक विस्तारका क्रममा क्षति पुगेको जग्गाको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने र जोखिममा परेका बस्ती संरक्षण गर्ने प्रतिबद्धता जनाएपछि सहमति जुटेको हो ।
सडक विस्तारका क्रममा पहिराले क्षति पुर्याएको जग्गा जमिनको क्षतिपूर्ति र जोखिममा परेका बस्ती संरक्षण माग गर्दै काभ्रेका बासिन्दाले सडक मर्मत र निर्माणमा अवरोध गरेका थिए ।
पहिराले काभ्रेमा करिब १५ मिटर सडक भासिएको, स्थानीयवासीको खेतीयोग्य जमिन बगेको र १५ घर जोखिममा परेका स्थानीयवासी बताए । जग्गाको क्षतिपूर्तिका लागि तत्कालै प्रक्रिया अघि बढाउने र बर्खालगत्तै संरक्षणको काम गर्ने सडक आयोजनाले प्रतिबद्धता जनाएको छ ।
मुस्ताङका जनप्रतिनिधि, दुवै जिल्लाका प्रशासन, सुरक्षा निकाय र बेनी–जोमसोम–कोरला सडक आयोजनाको पहलमा स्थानीयबासीसँग सहमति गरेर सडक मर्मत कार्य अघि बढाइएको हो ।
मुस्ताङका प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकाली, चन्द्रमोहन गौचन, प्रजिअ श्रीनाथ पौडेल, म्याग्दीका प्रजिअ गणेशबहादुर अधिकारी, सेनानी केशव सिलवाल, प्रनाउ राई, सशस्त्र प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङ, राष्ट्रिय अनुसन्धानका अनुसन्धान अधिकृत महेश गुरुङसहितको उपस्थितिमा छलफल भएको थियो ।
बेनी–जोमसोम सडक अवरुद्ध हुँदै म्याग्दी र मुस्ताङ जिल्लाका स्थानीयबासी समस्यामा परेका थिए ।