नागढुंगा सुरुङमार्गः फ्लाइओभर निर्माण शुरु, जग्गा धनीले १ अर्ब १४ करोड मुआब्जा पाउने

काठमाडौं । नागढुंगा सुरुङमार्ग जोड्ने (बलम्बु) फ्लाइओभर निर्माण शुरु भएको छ । मुआब्जा विवाद सुल्झेसँगै फ्लाइओभर निर्माण प्रक्रिया शुरु गरिएको आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए ।

‘फ्लाइओभर निर्माणका लागि बलम्बुको करिब १२ रोपनी जग्गा अधिग्रहण गर्नु पर्ने थियो । जग्गा उपलब्ध गर्न स्थानीयले सहमती जनाएसँग निर्माण शुरु गरिएको हो,’ प्रमुख शाक्यले हाम्रोअर्थसँग भने, ‘फ्लाइओभर निर्माणका लागि उत्तरतर्फ जग खन्न शुरु भइसकेको छ ।’

१२ रोपनी जमिन र ५७ वटा घर, टहरा सहित १ अर्ब १४ करोड रुपैयाँ मुआब्जा निर्धारण गरिएको छ । जग्गा धनीलाई प्रति आना ५२ लाख रुपैयाँसम्म मुआब्जा तिरिएको छ ।

मुआब्जाका लागि १ करोड ५० रुपैयाँ मात्र विनियोजन भएको छ । बाँकी रकम अर्थमन्त्रालयसँग माग गरिएको छ । अर्थमन्त्रालयले रकम उपलब्ध गराए ३ महिना भित्रमा मुआब्जा वितरण गरिसक्ने आयोजनाको लक्ष्य छ ।

मुआब्जा विवादका कारण सुरुङमार्ग निर्माण शुरु भएको २ वर्ष वित्दा पनि फ्लाइओभरको काम अघि बढ्न सकेको थिए । यसले सुरुङमार्ग समयमै सम्पन्न नहुने हो कि भन्ने आशंका उत्पन्न भएको थियो । मुआब्जामा स्थानिय सहमती भएसँगै सुरुङमार्ग निर्माणले गति लिने आयोजनाले विश्वास व्यक्त गरेको छ ।

२.६८८ मिटर मुख्य सुरुङमध्ये हालसम्म ५९९ मिटर खनिसकिएको छ । जसमा पूर्वतर्फ ३०६ मिटर र पश्चिमतर्फ २९३ मिटर खनिएको छ ।

आकस्मिक प्रयोजनको सुरुङ हालसम्म १ हजार १२१ मिटर खनिएको छ । त्यसमध्ये काठमाडौंतर्फबाट ६७६ मिटर र धादिङतर्फ ४४५ मिटर खनिएको छ । धादिङको वर्किङ अडिटतर्फ १२६ मिटर र क्रस प्यासेज काठमाडौंतर्फ २७ मिटर र धादिङतर्फ १५ मिटर खनिएको छ ।

आयोजनाको करिब ५० प्रतिशत काम भने सुरुङ बाहिर छ । सुरुङसँग राजमार्गलाई जोड्न पहुँच सडक र फ्लाइओभर, अन्डरपास, बक्स कल्भर्ट, ओभरबाट, पुललगायत संरचना पनि निर्माण गर्नु पर्छ । जसमा दुई वटा अन्डरपासमध्ये एउटा निर्माण सम्पन्न भएको छ । ४ वटा बक्स कल्भर्टमध्ये ३ वटा निर्माण भएको छ । एउटा ओभर पास र २ वटा पुल निर्माण भएको छ । फ्लाइओभरको काम भने भर्खर शुरु भएको छ ।

हालसम्म भौतिक प्रगति २५ प्रतिशत र वित्तीय प्रगति ३३ प्रतिशत भएको आयोजनाले जानकारी दिएको छ ।

यो सुरुङ मार्ग निर्माण भएपछि धादिङको नौबीसेदेखि काठमाडौं प्रवेश गर्ने दूरी ४ किलोमिटरले घट्नेछ । सवारी साधनले यो दूरी १५ देखि २० मिनेटमा पार गर्नेछन् । जबकी हाल सामान्य अवस्थामा एक घण्टा र जाम हुँदा घण्टौंसम्म लाग्ने गरेको छ । नौबीसेदेखि थानकोटसम्मको सडक ११ डिग्रीको उकालोमा छ भने सुरुङमा जम्ममा ४ डिग्री मात्र उकालो हुनेछ । यसले गर्दा सवारी साधनको इन्धन खपत उल्लेखनीय रूपमा घट्ने सडक विभागका अधिकारीले बताएका छन् । हाल यो सडकमा दैनिक १० हजारभन्दा धेरै गाडी ओहोरदोहोर गर्छन् ।

नागढुंगा सुरुङमार्गको प्रारम्भिक अध्ययन सन् २०१४ मा नै शुरु भएको थियो । सन् २०१६ मा आर्थिक स्रोत सुनिश्चित गरी २०१७ बाट डिजाइन थालिएको थियो । यो सुरुङ मार्ग निर्माण गर्न जापानको अन्तर्राष्ट्रिय सहायतासम्बन्धी नियोग (जाइका)ले १६ अर्ब ६ करोड रुपैयाँ सहयुलियत ऋण उपलब्ध गराएको हो । ०.०१ प्रतिशत ब्याज दरमा उपलब्ध गराइएको ऋण नेपालले ४० वर्षमा तिर्नुपर्नेछ । पहिलो १० वर्षको ब्याज भने तिर्नुपर्दैन ।

हाज्मा–आन्द्रो यो ठेक्का साढे १३ अर्ब रुपैयाँमा प्राप्त गरेको हो । आयोजनाका अनुसार सुरुङमार्ग निर्माण गर्न करिब २२ अर्ब रुपैयाँ लाग्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स