चक्रपथ विस्तारः चिनियाँ टोलीद्वारा कलंकी-चाबहिल खण्डको साइट क्लियर निरीक्षण

काठमाडौं । चक्रपथ दोस्रो खण्ड (कलंकी-चाबहिल) को चिनियाँ टोलीद्वारा नेपाली पक्षले गरेको साइट क्लियरको निरीक्षण गरेको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले चिनियाँ टोलीद्वारा मंसिरको पहिलो साता कलंकी–चाबहिल खण्डमा नेपाली पक्षबाट गरिएको साइट क्लियरको निरीक्षण गरेको जानकारी दिए ।

‘चिनियाँ पक्षबाट कलंकी–चाबहिल खण्डको साइट क्लियरको निरीक्षण भएको छ । चीनले इमलेमार्फत् विभागलाई उक्त विषयको जानकारी दिएको हो,’ महानिर्देशक थापाले भने, ‘साइट क्लियरको निरीक्षण गरेर चिनियाँ टोली फर्किसकेको छ ।’

निरीक्षण पछिको रिर्पोटिङ भने चिनियाँ पक्षले गरेको छैन ।

साइट क्यिलरको निरिक्षण चीनबाट आएको टोलीले नभइ नेपालमै रहेको चिनियाँ इन्जिनियरहरुको प्रतिनिधिबाट भएको उनले जानकारी दिए । उक्त टोलीले चीनमा रिर्पोटिङ गरिसके पनि नेपाललाई भने त्यस विषयमा थप जानकारी दिएको छैन ।

चक्रपथको पहिलो खण्ड कोटेश्वर–कलंकीमा साइट क्लियर नभई निर्माण प्रक्रिया अघि बढाउँदा भोग्नु परेको समस्याका कारण चिनियाँ टोली दोस्रो खण्डमा भने पूर्ण रुपमा साइट क्लियर नभई निर्माण प्रक्रिया अघि बढाउने पक्षमा छैन ।

सडक विभागले ३ वर्ष अघिदेखि नै चक्रपथको दोस्रो खण्ड विस्तारका लागि रुख कटान, भौतिक संरचना पन्छाउन, खानेपानी पाइपलाइन व्यवस्थापन, विद्युत र टेलिकमका पोल हटाउन शुरु गरेको छ । यी काम सम्पन्न भइसकेका छन् ।
कलंकी–चाबहिल ११.६ किलोमिटर खण्डको राइट अफ वे ६२ मिटरको छ । तर स्वयम्भू र महाराजगञ्ज खण्ड भने साँघुरो छ । यी दुई खण्डले गर्दा पनि चक्रपथ ६२ मिटरमा विस्तार गर्न समस्या देखिएको छ ।

तर, महाराजगञ्ज खण्डको १४४ मिटर क्षेत्रमा भने राईट अफ वे ३० मिटरमात्र छ । उक्त खण्डमा करिब ५० वटा आवासिय तथा व्यवसायीक भवन छन् ।

विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भू क्षेत्रका केही संरचना पनि हटाउनुपर्ने देखिएको छ ।

सडक विभाग र काठमाडौं महानगरपालिकाले स्वयम्भूको सडक नजिकका स्तम्भ, माने, हजार मूर्तिसहितको स्तुप (साङ्गे तोङ्कु) भत्काउने तयारी गरेपछि सम्पदा प्रेमीहरुले विरोध थालेका थिए ।

स्वयम्भूको सम्पदा हटाउन विषयमा विवाद उत्पन्न हुन थालेपछि तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङले उक्त क्षेत्र नचलाई विस्तार अघिबढाउने प्रतिबद्धता जाहेर गरेका थिए । सडक विभाग पनि स्वयम्भू क्षेत्रलाई नछोई चक्रपथ विस्तार गर्ने योजनामा छ ।

‘चक्रपथ विस्तारको दोस्रो खण्डमा महाराजगञ्ज र स्वयम्भूलाई छोडेर बाँकी स्थानमा साइट क्लियरेन्सको काम सकिसकिएको छ । चिनियाँ पक्षसँग तत्कालका लागि यी दुई स्थानलाई यथास्थितिमा छाडेर निर्माण गर्न अनुरोध गरिएको छ,’ थापाले भने, ‘निर्माणकै क्रममा यी दुई स्थानको समस्या हल पनि हुन सक्छ । यदि निर्माण सम्पन्न हुँदासम्म समस्या यथावत भयो भने पछि नेपाल आफैले निर्माण गर्नेछ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स