काठमाडौं । सडक बिभागका महानिर्देशक रामहरी पोखरेलले प्राथमिकताका आधारमा निर्माण व्यवसायीको भुक्तानी गरिने बताए । तर, यो अर्थ मन्त्रालयमा निर्भर हुने उनले बताए ।
अर्थ मन्त्रालयले जति छिटो गर्छ, त्यति छिटो निर्माण व्यवसायीहरुले भुक्तानी गर्न सकिने उनले बताए । शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन व्यवस्थापन कार्यान्वयन समिति र नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा आयोजना गरेको ‘विकास बजेटको परिचालः सरकार र निजी क्षेत्रको भुमिका’विषयक छलफल कार्यक्रम उनले यस्तो बताएका हुन् ।
‘अर्थमन्त्री ज्यूले भोली (आइतबार) नै भुक्तानी लिन आउनु भन्नु भयो । अब बिभागमा भुक्तानी लिन आउनेका लाइन लाग्ने होला । तर, यो अर्थमन्त्रालयमै निर्भर हुन्छ । हामीले बजेट व्यवस्थापनका लागि अर्थमन्त्रालयमा प्रस्ताव पेश गरेका छौं,’ उनले भने, ‘अर्थमन्त्रालयले जति छिटो गर्छ, त्यति छिटो निर्माण व्यवसायीहरुले भुक्तानी पाउने अवस्था रहन्छ ।’
यस्तै, बुटवल नारायणघाट सडक खण्डका कारण बिभागलाई समस्या पनि भइरहेको पनि उनले बताए । फकाएर भए पनि पुरानो निर्माण व्यवसायीलाई काम गर्न लगाउनु पर्ने अवस्था आएको पनि उनले बताए । । ठेक्का तोडेर काम गर्दा बिभिन्न समस्या आउन सक्ने उनले बताए । त्यसले लागत र समय पनि बढ्ने उनको भनाइ छ ।