नेपाल टेलिकमको नाफा ४९ प्रतिशतले बढेर २ अर्ब २६ करोड पुग्यो

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको नाफामा उल्लेखनिय सुधार आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल टेलिकमले २ अर्ब २५ करोड ९९ लाख ४ हजार रुपैयाँ नाफा गर्न सफल भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४८.९० प्रतिशत बढी हो । २०७७ पहिलो त्रैमासमा टेलिकमको नाफा १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार रुपैयाँ थियो ।

फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एसएमएस सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुन गएको छ। यसैगरी २जी तथा ३जीसेवाको पहुँच नपुगेका स्थानहरुमा समेत २जी, ३जी र ४जी सेवाको पहुँच विस्तार गरिएकाले ग्राहक आधार वृद्धि हुन गएको छ । कम्पनीको एफटीटीएच सेवाप्रति ग्राहकको आकर्षणमा वृद्धि भई एफटीटीएचमार्फत वितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आइपीटीभी सेवाका ग्राहकहरु वृद्धि हुन गइ फिक्स नेटवर्कबाट हुने आयमा समेत सकारात्मक प्रभाव परेका टेलिकमले जानकारी दिएको छ ।

मुलुक तथा विश्वव्यापी रुपमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम पश्चात कोभिड–१९ को महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा आएको संकट चालु आवको शुरुबाटै केही सहज भएकोले कम्पनीका आयोजनाहरु तथा सेवा वितरणमा सहजता आएको छ ।

कोभिड–१९ को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डाटा प्याकेज उपलव्ध गराइएको हुँदा सोबाट प्रत्यक्ष रुपमा राजश्व वृद्धि हुने अवस्था नरहेतापनि कम्पनीका सेवाहरुको गुणस्तर अभिवृद्धि, मर्मत सम्भारमा सुधार जस्ता क्रियाकलापहरुबाट कम्पनीका सेवाहरुप्रति ग्राहकवर्ग आकर्षित हुन सकेको तथा सोही कारणले सेवा उपयोगमा वृद्धि भएको छ ।

कोभिड–१९ महामारी, अन्तर्राष्ट्रिय यात्रा सहज नभइसकेको वास्तविकता तथा ओटीटीको वढ्दो प्रयोगले अन्तर्राष्ट्रिय कल तथा अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको गिरावट कायमै रहेता पनि अनलाइन व्यवसाय, अनलाइन कक्षा, सोसल नेटर्वकिङ, इन्टरनेट बेस्ड इन्टरटेन्मेन्टलगायतमा भएको वृद्धिको कारणले कम्पनीको भ्वाइस सेवा, डाटा सेवा र एसएमएस सेवामा गत आवको प्रथम त्रैमासिक अवधि (२०७७ आश्विन मसान्त) को तुलनामा चालु आवको सोही अवधिमा सुधार आई क्रमशः करिब ७ प्रतिशत, १५ प्रतिशत र ३३५ प्रतिशतले वृद्धि भएको टेलिकमले जानकारी दिएको छ ।

गत आवको प्रथम त्रैमासिक अवधि (२०७७ आश्विन मसान्त) मा कम्पनीको सञ्चालन आय ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा १ अर्ब १३ करोड ९९ लाख ५४ हजार रुपैयाँ अर्थात, १३.२ प्रतिशतले वृद्धि भई ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।

गत आवको प्रथम त्रैमासिकको कुल आय १० अर्ब १० करोड ४४ लाख ७५ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा कुल आय ८४ करोड ७८ लाख ७१ हजार रुपैयाँ अर्थात, ८.३९ प्रतिशतले वृद्धि भई १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रुपैयाँ पुगेको छ ।

गत आवको प्रथम त्रैमासिक अवधिमा इबीआइटीडीए ३ अर्ब ९७ करोड ४ लाख ९१ हजार रुपैयाँ रहेकोमा चालु आवको सोहि अवधिमा ८४ करोड ४९ लाख ५७ हजार रुपैयाँ अर्थात, २१.२८ प्रतिशतले वृद्धि भई इबीआइटीडीए ४ अर्ब ८१ करोड ५४ लाख ४८ हजार रुपैयाँ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स