अब मोबाइल एपमा बागमती प्रदेशका कानुन

काठमाडौं । एकीकृत सूचना बैंक सञ्चालनमा ल्याएको बागमती प्रदेश सरकारले कानुन एप निर्माण गरेको छ ।

बागमती प्रदेश सरकारले तर्जुमा गरेका सम्पूर्ण कानुनहरु एकीकृत रुपमा मोबाइल एप्लिकेसनको माध्यमबाट हेर्न, डाउनलोड गर्न र सामाजिक सञ्जालमा सेयर गर्न मिल्ने गरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एप बनाएर सार्वजनिक गरेको हो ।

सो एपको नाम ‘बागमती कानुन’ राखिएको छ। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. अजयक्रान्ति शाक्यले सो एप सार्वजनिक गर्दै आफूले डिजिटल बागमती प्रदेश बनाउन खोजेको र यसै सन्दर्भमा यो एप निर्माण गरिएको जानकारी दिए । यस्ता एपले सूचनाको सहज पहुँचलाई थप सहज हुने उनले बताए ।

बागमती कानून एपमा नेपालको संविधान, बागमती प्रदेश सरकारले तर्जुमा गरेका ऐन, नियमावली, अध्यादेश, गठन आदेश, निर्देशिका, कार्यविधि, प्रदेश राजपत्रहरु उपलब्ध हुनेछन् । एपमा पुराना कानुन, राजपत्रलगायत कानुनी समाचारहरूलाई समेत समावेश गरिएको छ । त्यसैगरी निर्माणको क्रममा रहेका कानुनहरुमा सर्वसाधारण जनताले आफ्ना राय, सल्लाह सुझाव पनि व्यक्त गर्न सकिने व्यवस्था रहेको मन्त्रालयले जानकारी दिएको छ।

एप निर्माणकर्ता प्रोलोजिक सोलुसन प्रालिका प्रोपराइटर नितेश दाहालले मन्त्रालयले प्रदान गरेको कार्यविवरण अनुरुप एपको निर्माण भएको र यो एप सरकारी स्वामित्वमा रहने भएकाले गुगल प्लेस्टोर र एप्पल स्टोरमा उपलब्ध गराउन केही समय लाग्ने बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स