काठमाडौं । आम ग्राहकले अब घरमै बसी बसी पुरानो फोन बिक्री गर्न पाउने भएका छन् । यतिमात्रै होइन, नयाँपुरानो इलेक्ट्रो टिचले तयार पारेको एपले फोन बिक्री गर्ने वित्तीकै ग्राहकको खातामा सिधै पैसा पनि जम्मा गरिदिने छ भने उनीहरू कै नाममा रुख पनि रोपिदिनेछ । नयाँपुरानो इलेक्ट्रो टिचले पुरानो मोबाइल सहजै बिक्री गर्न सकिने नयाँ प्लेटफर्म (एप) तयार पारेको हो ।
नयाँपुरानो कम्पनीले एप नै बनाएर पुरानो मोबाइल बिक्री प्रक्रियालाई सहज बनाएको हो । कम्पनीले तयार पारको एपबाट आम ग्राहकले घरमै बसी बसी मोबाइल बिक्री गर्न सक्ने छन् । एपले सोधेका प्रश्नहरूको जवाफ दिएपछि एपले नै ग्राहकको मोबाइलको मूल्य निर्धारण गर्दछ । एपले निर्धारण गरेको मूल्यमा कम्पनीले ४/५ सय रुपैयाँ सेवा शुल्क लिएर मोबाइल बिक्री गरेकै समयमा ग्राहकको खातामा पैसा पठाइदिने नयाँपुरानो कम्पनीका प्रवन्ध निर्देशक अभिशेक अग्रवालले बताए ।
विराटनगरका कंक्रिट व्यापारी अभिशेकले ३ महिना अघि काठमाडौंको सीटीसी मलमा नयाँपुरानो कम्पनी खोलेर यस्तो सुविधा दिएका हुन् । सीए पढ्दा पढ्दै छाडेर उनले यो व्यवसाय सुर गरेका हुन् । ३५ लाख रुपैयाँ खर्चेर बनाएको नयाँपुरानो एपले बिक्री गर्न चाहेको मोबाइललाई डिक्टेड गर्छ ।
यसरी बिक्री गर्न सकिन्छ पुरानो मोबाइल
यदि तपाईलाई कुनै मोबाइल बिक्री गर्नु छ भने नयाँपुरानो कम्पनीले तयार पारेको एप सबैभन्दा पहिला तपाईले आफ्नो मोबाइल तथा ल्यापटपमा डाउनलोड गर्नुपर्ने हुन्छ । यसरी डाउनलोड गरिसकेपछि तपाईले बिक्री गर्न चाहेको मोबाइल सेटको मोडल र ब्राण्ड दर्ता गर्नुपर्छ । त्यसपछि नयाँपुरानो एपले मोबाइललाई डिक्टेट गर्न थाल्छ र एप आफैले केहि प्रश्नहरू सोध्छ । उसले सोधेको प्रश्नको जवाफ लेखे (इन्ट्री) पछि मोबाइलको कति पैसा पर्छ त्यसको मूल्यांकन एप आफैले गर्छ ।
फोन डिक्टेड हुन थालेपछि फोनको सेन्सरले काम गर्छ कि गर्दैन, फोनको स्किनको समस्या अवस्था कस्तो छ, फ्रेमको कण्डिशन कस्तो छ, क्यामराको ग्लास कस्तो छ ? लगायतका प्रश्नहरूको पनि जवाफ दिनुपर्ने हुन्छ ।
उनले मोबाइल बिक्री तथा रिपेयरिङ गर्नको लागि देशका विभिन्न स्थानमा रहेका ३०० वटा मोबाइल बिक्री तथा रिपेयर सेन्टरसँग टाई अप गरेको प्रबन्ध निर्देशक अग्रवालले जानकारी दिए । कम्पनीले फोन खरिद गर्दा ग्राहकसँग नागरिकताको फोटोकपी र बैंक खाता नम्बर पनि माग्छ र सोहि खातामा पैसा पठाइदिन्छ । यतिमात्रै होइन नागरिकता नै मागिने भएकाले चोरीको फोन पर्दैन ।
वातावरणका जोगाउन ग्राहकको नाममा रुख
नयाँपुरानो कम्पनीले हरेक पुरानो मोबाइल खरिद गरेपछि कम्पननीले ग्राहकको नाममा एउटा रुख पनि रोप्ने गरेको छ । कम्पनी सञ्चालमा आएपछि ३० वटा मोबाइल माथि उल्लेखित प्रक्रियाबाट खरिद गरी सोही अनुसारको ३० वटानै रुख पनि रोपिसकेको छ । कम्पनीका अनुसार ललितपुरमा उक्त रुख रोपिएको हो ।
वातावरण जोगाउन यस्तो अभियान सुरु गरेको प्रवन्ध निर्देशक अग्रवालले बताए । ‘एउटा मोबाइल बनाउन ७ हजार लिटर पानी प्रयोग हुन्छ,’ उनले भने ‘मोबाइल बनाउँदै गर्दा ग्यास र हामफूल रसायन पनि निष्कने हुनाले रुख रोपेर वातावरणलई जोगाउने प्रयास थालिएको हो ।’ कम्पनीले एउटा रुख रोप्नको लागि प्रति रुख १८० रुपैयाँ खर्च गर्ने गरेको छ ।
६ जनाको टिमबाट सुरु भएको अग्रवालले यो व्यवसायलाई बढाएर ल्यापटप, गाडिसम्म पुर्याउने योजना बनाएका छन् । मेरो जस्तो सानो व्यवसायले म जस्तै सानो व्यवसाय गर्नेलाई प्रोत्साहन गर्छ भन्ने लागेको उनले बताए ।