काठमाडौं । एनसेलले ज्येष्ठ नागरिकलक्षित बन्डल अफरसहितको निःशुल्क सिम योजना ल्याएको छ । एनसेल आजियाटा लिमिटेडका अनुसार अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२१ को अवसर पारेर शुक्रबारदेखि यो अफर ल्याइएको हो ।
यसमा ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुले एनसेलको सिम निःशुल्क पाउन सक्छन् । साथै ५० रुपैयाँ वा सोभन्दा बढिको हरेक रिचार्जमा ६ महिनासम्म बोनसका रुपमा पाइने सेवा सुविधाहरुको फाइदा लिन सक्छन् ।
यो योजना अन्तर्गत पहिलो ५० रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा ज्येष्ठ नागरिकहरुले १०० एमबी डेटा र १०० वटा अननेट एसएमएस बोनस पाउँछन् । त्यस्तै पहिलो रिचार्जपछि त्यस सिमबाट ज्येष्ठ नागरिकहरुले ६ महिनासम्म विषेश छुटसहितको शुल्कमा भ्वाइस, डेटा र भारत कलसेवा लिन सक्छन् । ग्राहकले विशेष छुटअन्तर्गत रु१ प्रतिमिनेटमा भ्वाइस सेवा, १ रुपैयाँ प्रतिएमबीमा डेटा सेवा र १.९९ रुपैयाँ प्रतिमिनेटमा भारतमा कल गर्न सक्छन्।
यसका साथै यसै योजना अन्तर्गत रिचार्जमा पनि बोनसको सुविधा छ। ५० देखि ९९ रुपैयाँ सम्म रिचार्ज गर्ने ग्राहकले ७ दिनको समयसीमा रहेको २०० एमबी डेटा बोनसस्वरुप प्राप्त गर्दछन् । त्यस्तै १०० देखि १९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकले बोनसबापत ५०० एमबीडेटा पाउँछन्। २०० रुपैयाँ वा सोभन्दा बढी रिचार्ज गर्ने ग्राहकले १जीबी डेटा बोनसस्वरुप प्राप्त गर्नेछन् । बोनसमा पाइने यी डेटाहरु ७ दिनको लागि मान्य रहन्छ ।
ज्येष्ठ नागरिकहरुले आफ्नो नजिकैको एनसेल सेन्टरमा पासपोर्ट साइजको फोटो र नागरिकता लिएर गई सजिलै यो सिमकार्ड लिई सेवासुविधाको लाभ लिन सक्छन् । यो योजना असोज २२ गतेसम्म संचालनमा रहनेछ ।
यस योजनाले ज्येष्ठ नागरिकहरुलाई सहज र सुलभ दरमा गुणस्तरीय दूरसञ्चार सेवा सुनिश्चित गर्न मद्दत गर्ने र परिवारजनहरुसँग डेटाको माध्यमबाट डिजिटल्टी सम्पर्कमा रहिरहन पनि सहयोग पुर्याउने विश्वास लिएको एनसेलले जनाएको छ ।