काठमाडौं । नेपाल टेलिकमले भारत र थाइल्यान्डमा नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर उल्लेखनीय रुपमा कमी गर्ने भएको छ। मे १७ मा मनाइने आईटीयू डे २०२३ को अवसरमा भोलि जेठ ३ गतेदेखि लागू हुने गरी नयाँ महसुल दर कायम हुनेछ।
नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइल लिएर यी दुई देश जाने सेवाग्राहीले पहिले भन्दा धेरै नै कम महसुल दरमा रोमिङ सेवा प्रयोग गर्न सक्नेछन्। नयाँ दरअनुसार भारतमा नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट ७ रूपैयाँ मात्र शुल्क लाग्ने छ। त्यसैगरी नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि प्रतिमिनेट ७ रूपैयाँ लाग्नेछ भने एसएमएस गर्दा प्रतिएसएमएस ७ रूपैयाँनै लाग्ने छ।
हाल भारतको कुनै नम्बरमा कल गर्दा ३० रूपैयाँ, अन्य नम्बरबाट आएको कल उठाउँदा १४ रूपैयाँ र एसएमएस गर्दा २४ रूपैयाँ लाग्ने व्यवस्था छ।
त्यसैगरी थाइल्यान्डमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलबाट कुनै थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रतिमिनेट ५० रूपैयाँ मात्र लाग्नेछ। त्यसैगरी आएको कल उठाउँदा प्रति मिनेट २५ रूपैयाँ र एसएमएस गर्दा प्रतिएसएमएस १० रूपैयाँ लाग्ने छ।
हाल कुनै नम्बरमा कल गर्दा १३५ रूपैयाँ र अन्य नम्बरबाट आएको कल उठाउँदा ९० रूपैयाँ लाग्ने व्यवस्था छ। एसएमएस गर्दा प्रतिएसएमएस ३४ रूपैयाँ लाग्छ।
त्यसैगरी डाटा चलाउँदा हाल प्रति एमबी ४० रूपैयाँ शुल्क भएकोमा अब प्रति १०० केबी ०.४९ पैसामात्र लाग्नेछ। यसअनुसार प्रतिएमबी करिब ५ रूपैयाँ मात्र लाग्नेछ।
अन्य देशमा जाँदा–रहँदासमेत नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गर्न सकिने सुविधा नै अन्तर्राष्ट्रिय रोमिङ सेवा हो। यो सुविधा लिएपछि विदेश गएको समयमा पनि नेपाल टेलिकमकै मोबाइल नम्बर (सिम) प्रयोग गरी कल गर्न र फोन उठाउन, इन्टरनेट चलाउन तथा एसएमएस आदानप्रदान गर्न सकिन्छ।