३० करोड आम्दानी बढाउन पोल भाडा शुल्क वृद्धि गरिएको हैनः कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ३० करोड रुपैयाँले आम्दानी बढाउन इन्टरनेट सेवाको पोल भाडा शुल्क परिमार्जन नगरिएको बताएका छन् । तराई विकास तथा संचार केन्द्र, नेपालले मंगलबार आयोजना गरेको ‘नेपालमा सूचना प्रविधिको प्रयोगको अवस्था र चुनौती’ विषयक कार्यक्रममा घिसिङले सो बताएका हुन् ।

प्राधिकरणले घरेलु उपभोक्ताबाट वार्षिक रुपमा करिब ३० अर्ब रुपैयाँ आम्दानी गर्ने गरेको छ । उद्योग, व्यावसायी र घरेलु उपभोक्तागरी वार्षिक करिब ७० अर्ब रुपैयाँ प्राधिकरणको आम्दानी रहेको छ । ओपीजीडब्ल्यू केबल र पोलभाडाबाट प्राधिकरणले करिब २५ देखि ३० करोड रुपैयाँ आम्दानी गर्ने गरेको छ ।

‘यो धेरै पुरानो रेट थियो । रेट बढाइएको हैन । रेट नै थिएन । अहिले प्राधिकरणले एउटा नयाँ रेट राखेको छ । त्यो रेट पैसा धेरै उठाउन राखेको हैन । इन्टरनेट तारले शहरको सुन्दरता एकदमै गिजोरियको छ,’ घिसिङले भने, ‘पोलबाट केबल तान्दा सबैले सेयरिङ गरेर तान्नु हुन्छ कि भनेर नयाँ रेट राखिएको हो ।’

२४ कोर केबल राख्दा र १ कोर केबल राख्दा उही रेट पर्ने उनी दावी गर्छन् ।

‘२४ कोरको केबलबाट धेरैले सेयरिङ गर्नु हुन्छ भनेर राखिएको हो । ९६ कोर केबल ताने पनि उही हो । २४ कोर ताने पनि आकार र तौल उही हो,’ उनले भने, ‘९६ कोर तान्ने हो भने अहिलेको भन्दा सस्तो पर्छ ।’

हरेक आईएसपीहरुले निजी रुपमा केबल तान्ने गरेका छन् । केबल सेयरिङ गर्ने हो भने शुल्क कम हुन्छ । साथै, केबलमा समस्या आयो भने केबल परिवर्तन गर्नुभन्दा अर्को केबल तान्ने गरिएको छ । करिब ९५ प्रतिशत केबल प्रयोगमा नभएको उनको दावी छ । ५ प्रतिशत मात्र प्रयोगमा छ । धेरै तार पोलमा टागिँदा पोल ढल्लने अवस्थामा पुगिसकेको उनी बताउँछन् ।

सबैले सेयरिङ गरे भने शुल्क कम पर्छ भन्ने विचारका साथ पोलभाडा शुल्क संशोधन गरिएको हो । सबै आईएसपीहरुले केबल सेयर गर्ने हो भने इन्टरनेट शुल्क वृद्धि गर्नेभन्दा पनि घट्ने अवस्था सिर्जना हुने उनको तात्वपर्य थियो ।
साथै, इन्टरनेट सेवालाई अवरोध गर्ने मनसाय प्राधिकरणको नभएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स