नेपालको करको दायरामा आयो गुगल, अन्य सामाजिक सञ्जाललाई पनि करको दायरामा ल्याइने

काठमाडौं । विश्वकै ठूलो प्रविधि कम्पनी गुगल एलएलसी (लिमिटेड लायबिलिटी कम्पनी) नेपालमा करको दायरामा आएको छ । आन्तरिक राजस्व विभाग अन्तर्गतको ठूला करदाता कार्यालयमा गुगल दर्ता भएको हो । आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले अब गुगलले नेपाललाई मासिक रुपमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर र वार्षिक रुपमा डिजिटल सर्भिस ट्याक्स तिर्ने बताए ।

‘विभागले अन्य सामाजिक सञ्जाललाई पनि करको दायरामा ल्याउने गरी कार्य अघि बढाइ रहेको छ,’ उनले भने ‘अब छिट्टै हामी विश्वभर फैलिएका यस्ता सेवा प्रदायकलाई डिजिटल सर्भिस ट्याक्सको दायरामा ल्याउँछौं ।’ सरकारले चालु आर्थिक वर्ष २०७९/०८० को आर्थिक ऐनबाट व्यवस्था विद्युतीय सेवा कर तिर्ने गरी गुगल दर्ता भएको अन्तरिक राजस्व विभागले विभागले जनाएको छ ।

नेपालको कर प्रणालीमा विश्वकै ख्याती प्राप्त कम्पनी करको दायरामा आएको हो । गुगलले नेपालका उपभोक्तालाई सेवा प्रदान गरेर आर्जन गरेको कुल आम्दानीको दुई प्रतिशत रकम अबदेखि नेपालमा बुझाउनुपर्ने हुन्छ ।

गुगलले नेपालमा उपलब्ध गराउने विभिन्न सेवा र उत्पादनको विद्युतीय सेवा कर अनुसार नै कर तिर्ने गरी दर्ता भएको हो । सिंगापुरस्थित क्षेत्रीय कार्यालयका नाममा गुगल दर्ता भएको छ ।

सरकारले चालु आर्थिक वर्ष २०७९/०८० देखि गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तलाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय सेवा कर लागू गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स