काठमाडौं । नेपालको कुल घरपरिवारमध्ये १७ लाख ८४ हजार २८० परिवार मोबाइलफोनको पहुँचभन्दा बाहिर भएको सरकारी तथ्यांकले देखाएको छ । शुक्रबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदन अनुसार यस्तो यस्तो तथ्यांक देखिएको हो । यद्यपि सो गणना गरेको करिब २ वर्ष पुग्न लागेको छ । यो अवधिमा कति बढ्यो भन्ने वारे तथ्यांक भने देखिएको छ ।
देशका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ४८ लाख ७६ हजार ५६१ परिवार मोबाइल फोनको पहुँचमा छन् । तथ्याङ अनुसार मोबाइल फोन वा स्मार्टफोन दुबैै नहुने परिवारको संख्या १७ लाख ८४ हजार २८० रहेको छ ।
सो तथ्याङ अनुसार कूल ७३.२ प्रतिशत मानिसहरू कुनै न कुनै फोनको पहुँचमा छन् । बाँकी २६.८ प्रतिशत जनसंख्यासँग मोबाइलफोन नै नरहेको तथ्यांकले देखाएको छ ।
सरकारी तथ्यांकले त्यस्तो देखाएपनि पछिल्लो एक वर्षको अवधिमा नेपालमा आईफोनको बजार दोब्बरले बढेको छ । सरकारले महँगा फोनको आयातमा प्रतिबन्ध लगाएकै समयमा नेपालमा आईफोनको बजार अझ बढेको हो । नेपालमा महँगा मोबाइलको आयात रोकिएको भए पनि महँगो ब्राण्ड मानिएको एप्पलको बजार १ वर्षमा ६ प्रतिशतले बढेको देखिएको छ ।
गत वर्ष मार्चमा ६ दशमलव ३९ प्रतिशत मात्रै रहेको एप्पलको बजार हिस्सा पछिल्लो १ वर्षमा करीब दोब्बरले बढेर १२ प्रतिशत हाराहारी पुगेको विश्वव्यापी मोबाइल बिक्रीको तथ्याङ राख्ने स्टार्टकाउन्टरडटकमले उल्लेख गरेको छ ।
मे महीनामा एप्पलको बजार हिस्सा ६ दशमलव ८८ प्रतिशत मात्रै थियो । तर, त्यसपछि नेपाली बजारमा एप्पलले शानदार हिस्सा ओगटेको छ । पछिल्लो ९ महीनामा मात्रै एप्पलले झण्डै ५ प्रतिशतले बजार हिस्सा बढाएर ११ दशमलव ७७ प्रतिशत पुगेको छ ।
नेपाली बजारमा ८५ हजारदेखि ३ लाख ५ हजार रुपैयाँसम्मका मोबाइल फोन बिक्री गर्ने एप्पलको बजार हिस्सा त्यो सयमा बढेको छ । आईफोन बिक्रेताका अनुसार अहिले नेपालमा आईफोन–१४ को विक्री ह्वात्तै बढेको छ ।
न्यूनतम १ लाख ५५ हजारदेखि अधिकतम साढे ३ लाख रुपैयाँ हाराहारी मूल्यका आईफोन–१४ सिरिजका फोनको विक्री बढेपछि नेपाली बजारमा यसको हिस्सा १ वर्षमै दोब्बर भएको व्यवसायीहरूले बताएका छन् ।
आयात प्रतिबन्ध नभएको भए नेपालमा एप्पलका फोनको बजार हिस्सा १५ प्रतिशत हाराहारी पुग्ने ती व्यवसायीले दाबी गरे । अहिले एप्पलको मात्रै होइन सामसङसँग पनि महँगा फोनहरू ५८ हजारदेखि २ लाख ४५ हजार रुपैयाँसम्मका दर्जन बढी मोडलहरू नेपाली बजारमा छन् ।
तर, सामसङको बजार अहिले पनि निरन्तर ओरालो लागिरहँदा एप्पलले भने दिनप्रतिदिन छलाङ मारिरहेको छ । सामसङको बजार हिस्सा अहिले २७ प्रतिशतमा झरेको छ । जुन १ वर्षअघि ३१ प्रतिशत थियो । सामसङको घटेको बजार हिस्सालाई एप्पलले कब्जा गरेको देखिन्छ ।
भन्सार कार्यलयको तथ्यांक अनुसार गत साउनदेखि माघ महीनासम्म १४ अर्ब ७६ करोड ८३ लाख ५० हजार मूल्यका १० लाख ५ हजार १३५ थान स्मार्टफोन नेपालमा आयात भएका छन् । सरकारले गत पुस १ गतेदेखि आयात खुला गरेयता २ महीनामा मात्रै २ लाख १ हजार स्मार्टफोन आयात भएका छन् ।