क्यान इन्फोटेकको दोस्रो दिन, अफर स्टलमा अवलोकनकर्ताको भीड

५० एमबीपीएसदेखि ६०० एमबीपीएससम्मका इन्टरनेट प्याकेज

 

काठमाडौं । भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक २०२३ मा नयाँ उत्पादन र अफरसहितका स्टलमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । मंगलबारदेखि सुरु भएको यो सूचना सञ्चार प्रविधिको ठूलो प्रदर्शनीलाई लक्षित गरी विभिन्न प्रविधि कम्पनी, संघसंस्थाहरुले आफ्नो ब्राण्ड प्रवद्र्धन गर्दै विशेष छुट र अफर घोषणा गरेका छन् ।

प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ताको बढी चासो रहेको छ ।

क्यान इन्फोटेक २०२३ को शीर्ष प्रायोजक इन्फोडेभलपर्स प्रालिले नेपालको पुरानो र चर्चित कोर बैंकिङ सोलुसन्स ‘पुमोरी’को विशेष प्रवद्र्धन गरेको छ । तीन दशकदेखि बैंक तथा वित्तीय क्षेत्रमा पुमोरी सफ्टवेयर प्रयोग हुँदै आएको छ । साथै इन्फोडेभलर्सले इन्फिनिटी, इम्पावर, मोबाइल बैंकिङ, वेल्थ लगायतका प्रडक्टको पनि प्रदर्शनी गरिरहेको छ ।

त्यस्तै इन्फोटेकको एसोसिएट स्पोन्सर डिशहोम फाइबरनेटले ‘चल्छ हैन दौडिन्छ, घरको कुना कुनामा’ नारा सहित आफ्नो ब्रोडब्यान्ड इन्टरनेट र आईपी टिभीका विभिन्न प्याकेजको विशेष प्रवद्र्धन गरेको छ । यसअन्तर्गत कम्पनीले ५० एमबीपीएसदेखि ६०० एमबीपीएससम्मका इन्टरनेट प्याकेज ल्याएको छ ।

मेलाको डायमन्ड स्पोन्सर रहेको नेपाल टेलिकमले अवलोकनकर्तालाई निःशुल्क सिम वितरण गरिरहेको छ । साथै टेलिकमले स्टलबाटै ईसिम अपग्रेडको सेवा पनि दिइरहेको छ भने हालै ल्याइएको एनिभर्सरी अफरबारे ग्राहकलाई जानकारी दिइरहेको छ ।

त्यस्तै गोल्ड स्पोन्सर माया एनिमेसन एकेडेमीले इन्फोटेक अवलोकन गर्नेहरूका लागि एनिमेसन, भीएफएक्स, मोसन ग्राफिक्स, मुभी एडिटिङ, ग्राफिक्स डिजाइनिङ, अटो क्याड लगायतका कोर्षमा ५० प्रतिशतसम्मको छुट घोषणा गरेको छ ।

मेलाको टिकेटिङ पार्टनर पेवेलले आफ्नो एपमार्फत क्यान इन्फोटेकको टिकट रु. २५ मै उपलब्ध गराइरहेको छ । साथै पेवेलले आफ्नो क्यूआर भुक्तानी सेवासमेत क्यान इन्फोटेककै अवसर सार्वजनिक गरेको छ ।

मोबाइल सेवाप्रदायक एनसेलले निःशुल्क सिम वितरणको योजना सञ्चालन गरिरहेको छ । साथै एनसेलले ‘होम एन्ड अवे’ डेटा प्याकेजबारे पनि जानकारी दिइरहेको छ ।

यस्तै, मेलामा इन्टरनेट सेवाप्रदायक भायानेट, सुबिसु लगायतका कम्पनीहरूले अवलोकनकर्ताका लागि भन्दै विभिन्न प्याकेजहरु सार्वजनिक गरेका छन । छुट सुविधासहितका उक्त प्याकेजमा ग्राहकले कम मूल्यमा इन्टरनेट सेवा लिन सक्ने सुविधाहरु राखिएको छ ।

त्यस्तै कान्तिपुर सिटी कलेजले क्यान इन्फोटेकको अवसर पारी विभिन्न कोर्षमा ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेको छ । त्यस्तै इसेट एन्टिभाइरसमा ६० प्रतिशत छुट घोषणा गरिएको छ ।

भुक्तानी सेवा प्रदायक आइएमई पेले क्यान इन्फोटेकमा आउने अवलोकनकर्तालाई लागि निःशुल्क भिसा कार्ड प्रदान गरिरहेको छ । त्यस्तै स्टलबाटै आइएमई पेले ग्राहकको केवाईसी भेरिफाइड समेत गरिरहेको छ ।

अर्कोतर्फ कम्प्युटर र एक्सेसरिज लगायतका ब्राण्डले अवलोकनकर्ता आकर्षित गर्न सोही अनुसारका छुट तथा अफर सञ्चालन गरेका छन् । यसअन्तर्गत यू सफ्ट कम्प्युटर टेक्नोसिसले क्यान इन्फोटेकका अवसमा ल्यापटप, गेमिङ पीसी लगायतका प्रडक्टका लागि फ्रि सर्भसिङ अफर ल्याएको छ ।

विभिन्न ब्राण्डका केही कम्पनीहरुले अवलोकनकर्ताका लागि भन्दै मेलाको अवसरमा ५० प्रतिशतभन्दा बढीको छुट दिइरहेका छन । छुट धेरै हुने र केही ब्राण्डका पोर्टेबल एक्सेसरिजमा अवलोकनकर्ताको बढी भीड लाग्ने गरेको आयोजक क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

‘साना एक्सेसरिज जस्तै माउस, किवोर्ड, ब्लुतुथ स्पिकर, क्यामेरा स्ट्यान्ड लगायतका स्टलहरुमा बढी भीड लाग्ने गरेको छ,’ उनले भने, ‘मेलामा अक्षम, अपाङ लगायतले बनाएका विभिन्न आविष्कारहरू समेत प्रदर्शनीमा राखिएको छ ।’

मेलामा नेपालको नवीनतम सोच (इनोभेसन) र स्टार्टअपलाई प्राथमिकतामा राखिएको महासचिव अधिकारीले जानकारी दिए । उनका अनुसार प्राथमिकतामा राखिएकै कारण इनोभेसन र स्टार्टअपहरुलाई निःशुल्क स्टलहरु समेत उपलब्ध गराइएको छ ।

यसमध्ये पूजापाठ कम्पनीले तयार पारेको एन्ड्रोइड एप ‘पूजापाठ’ क्यान इन्फोटेककै अवसरमा पारी बुधबार सार्वजनिक गरियो । यस एपमार्फत कुनै पनि पूजाका लागि पण्डित तथा गुरु बोलाउन सकिने तथा एपबाटै पूजा सामग्री अर्डर गर्न सकिने बताइएको छ ।

साथै अन्य स्टार्टअप स्टलमा पनि विद्यार्थी तथा कम्पनीले तयार पारेका उत्पादन प्रदर्शनीमा राखिएको छ । त्यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले तयार पारेको सूचना प्रविधिमैत्री बसमा पनि अवलोकनकर्ताको आकर्षण देखिएको छ ।

बुधबार विभिन्न कलेजबाट उल्लेख्य संख्या आएका विद्यार्थीले क्यान इन्फोटेकको माहोल थप बढाएको थियो । १५० भन्दा बढी स्टलसहित सञ्चालन भइरहेको यो मेला आइतबारसम्म चल्ने छ ।

क्यान आईसीटी सेमिनार सुरुः
क्यान इन्फोटेक २०२३ अन्तर्गत आईसीटी सेमिनार सुरु भएको छ । यस अन्तर्गत पहिलो सेमिनार बुधबार प्रविधि उद्योग र एकेडमीबीच अन्तर विषयमा आयोजना भयो । क्यान महासंघले कोड फर चेन्जसँगको सहकार्यमा गरेको यो सेमिनारमा विभिन्न क्षेत्रबाट विज्ञ व्यक्तिहरू प्यानलिस्ट थिए ।

कार्यक्रमको अध्यक्षता क्यान महासंघका अध्यक्ष रणजीत कुमार पोदारले गरेका थिए । प्रमुख अतिथिमा आईटी इनोभेसन सेन्टर त्रिभुवन विश्वविद्यालयका निर्देशक प्राडा. सुवर्ण शाक्य र प्यानलिस्टमा उपसचिव सुवास ढकाल, टेक्सास कलेजका प्रमुख कार्यकारी अधिकृत एवं प्रिन्सिपल भेषराज पोखरेल, त्रिभुवन विश्वविद्यालयका सीएसआईटी डिपार्टमेन्टका उपप्राध्यापक नवराज पौडेल, स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडका सीईओ नारायण प्रकाश भुजेल तथा बीआईसी टेक्नोलोजीका सहसंस्थापक प्राथना शाक्य थिइन् । उक्त कार्यक्रमको सहजकर्तामा कोड फर चेन्जका अध्यक्ष निराजन क्षेत्री थिए । कार्यक्रममा विभिन्न आइटी कलेजका शिक्षक र विद्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको थियो । अन्त्यमा उक्त कार्यक्रमको समापन क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले गरे ।

माघ २६ गते बिहीबार ब्लकचेन प्रविधि र माघ २८ गते फिनटेक र नेपालमा इन्टरनेट इकोसिस्टम विषय गरी थप तीन सेमिनार हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स