काठमाडौं । नेपाल टेलिकमले सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । सभाले आफ्ना सेयरधनीहरुलाई प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यसका साथै लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरू पनि सभाले पारित गर्नेछ ।
कम्पनीले पुस २८ गते पन्ध्रौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गतेदेखि २७ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।
यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।