काठमाडौं । नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.५२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको आम्दानी ७.१४ प्रतिशत घटेर ९ अर्ब ७ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको अन्य आम्दानी भने समीक्षा अवधिमा ६६.७३ प्रतिशत बढेर १ अर्ब ९६ करोड २५ लाख रुपैयाँ पुगेको छ।
समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी २० प्रतिशत बढेर १८ अर्ब रुपैयाँ र जगेडा कोष ५.४० प्रतिशत घटेर ७९ अर्ब २९ करोड १६ लाख ९८ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गरेकाले चुक्ता पूँजी बढेको हो ।
नाफा घटेको र चुक्ता पूँजी बढेका कारण कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १० रुपैयाँ ८१ पैसा घटेर ४९ रुपैयाँ ४६ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५४० रुपैयाँ ५१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १६.४८ गुणा रहेको छ।