काठमाडौं। ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराउने जनाएको छ । वर्ल्डलिङ्क फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा शुरु गरेको छ । फोटोन उच्च गतिको इन्टरनेट हो । यसले घरभरि समान रूपमा इन्टरनेट उपलब्ध गराउँछ । नेपालमा पहिलो पटक ३०० एमबीपीएससम्मको गतिमा इन्टरनेट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
फोटोन स्किममा ग्राहकहरूले मेस वाईफाई प्रणालीबाट घरभरि नै धेरै उच्च गतिमा इन्टरनेट प्राप्त गर्ने जनाइएको छ । यस्तो वाईफाई प्राप्त गर्न नोकियाको बेकन १।१ राउटरहरू प्रयोग गरिनेछ । यसले हाल घरहरूमा भइरहेको ढिला गतिका इन्टरनेटको सम्स्याको समाधान गर्ने कम्पनीको दावी छ ।
इन्टरनेट प्रयोगको एक उत्कृष्ट अनुभव दिन वर्ल्डलिङ्कले घरभित्र धेरै राउटरहरूलाई नेटवर्किङ गर्ने छ । मेस वाइफाइ प्रणाली स्मार्ट जडानमा आधारित प्रणाली हो । यस्तो प्रणाली बिस्तारिकरण राउटर भन्दा धेरै राम्रो हुने कम्पनीले जनाएको छ । मेस वाईफाईमा सबै राउटरहरू एक अर्कासँग जोडिएका हुन्छन । त्यसमा म्यानुअल रूपमा वाईफाई प्रयोगकर्ताको युजरनेम परिवर्तन गर्ने आवश्यकता पर्दैन । ग्राहकहरूले घरभरि इन्टरनेटको गतिमा कुनै परिवर्तन बिना राउटरलाइ सार्न सक्नेछन ।
नयाँ इन्टरनेट सेवा सार्वजनिक गर्दै वर्ल्डलिङ्क कम्युनिकेसन्सका अध्यक्ष दिलीप अग्रवालले भने, ‘विश्वव्यापी इन्टरनेट प्रविधिको उत्कर्ष सीमामा छौँ र हाम्रो घरमा इन्टरनेट को गति निन्तर बढाउनुपर्ने आवश्यकताका साथ साथै अत्याधुनिक उपकरण र प्रबिधिसँगै एउटा गुणस्तरीय घरेलु नेटवर्किङ गर्नुपर्ने हुन्छ । घरमा भएका विभन्न उपकरणहरू इन्टरनेटसँग जोडिएका हुन्छन् । त्यसैले हामीले नेपालमा पहिलो पटक ३०० एमबीपीएस गितको वर्ल्डलिङ्क फोटोन सिरिज र यसको साथमा नोकिया बिकन १।१ राउटरको सँगै मेस वाईफाई होम सोलुसन शुरू गरेका छौं ।’
काठमाडौंमा फोटोन सेवा प्रदान गर्न हाम्रो नेटवर्कलाई अध्यावधिक गरेके पनि उनले बताए । अन्य सहरहरूमा पनि फोटोन सेवा चाँडै नै शुरू गर्ने उनले बताए ।
वर्ल्डलिङ्कले मुलुकका ११ हजार बढी स्थानमा वाईफाई हटस्पट बनाएर सर्वसाधारणलाई निःशुल्क वायरलेस इन्टरनेट उपलब्ध गराइरहेको जनाएको छ । कम्पनीले कर्णालीजस्ता दुर्गम स्थानमा समेत वायरलेस ब्रोडब्यान्ड टेक्नोलोजी सेवा पुर्याएको छ ।