काठमाडौं । पछिल्लो समय नेपालले प्रविधिमा फड्को मारेपनि फोरजी सेवा प्रयोगकर्ता ग्राहक भने एकै महिना ३३ हजार ५ सयभन्दा बढीले घटेका छन् । नेपाल दूर सञ्चार प्राधिकरणले प्रकाशित गरेको जेष्ठ महिनाको आईएमएस रिपोर्ट अनुसार २०७८ असारको तुलनामा साउनमा सो संख्यामा प्रयोगकर्ता घटेका हुन् ।
दूर सञ्चार प्राधिकरणको तथ्यांक अनुसार गत असारमा ७६ लाख ९७ हजार ८६३ रहेका फोरजी प्रयोगकर्ता साउनमा घटेर ७६ लाख ६४ हजार ३५९ मा सीमित भएका छन् ।
समग्रमा फोरजी सेवा प्रयोगकर्ता घटेपनि नेपाल टेलिकमको ग्राहक भने २१ हजार १७४ ले बढेका छन् । २०७८ मा नेपाल टेलिकमको ग्राहक २६ लाख ८६ हजार २५५ रहेकोमा जेष्ठमा आइपुग्दा सो ग्राहक बढेर २७ लाख ७ हजार ४२९ पुगेको छ ।
नेपाल टेलिकमको फोरजीका ग्राहक एक महिनामै २० लाखले बढेका छन् । टेलिकमले एक महिनामै आफ्ना फोरजीका ग्राहक २० लाखले बढेको दावी गरेको हो ।
सरकारी स्वामित्वको नेपाल टेलिकमले फोरजी सेवामा यसरी फड्को मार्दा बजारमा अन्य सेवामा आक्रमक देखिएको एनलेसले भने आफ्नो व्यवसाय विस्तार गर्न सकेको छैन । नेपाल दूरसंचार प्राधिकरण (एनटीए)ले जारी गरेको गत साउन महिनाको एमआईएस रिपोर्ट अनुसार एनसेलको १ महिनाको व्यवसाय भने स्थिर देखिएको छ । २०७८ असार र साउनमा एनसेलको व्यवसाय ४८ लाख ५ हजार २१५ मा सीमित रहेको छ ।
दूर सञ्चार प्राधिकरणले एमआईएसमा फोरजीको तथ्यांक अपडेट गर्दा एक्टिभ युजरको तथ्यांक मात्रै राख्ने गरेको छ । एनटीएले कहिले चलाउने कहिले नचलाउने, सब्सक्राईव गर्ने तर नचलाउनेलगायतमा सेवाग्राहीलाई वर्गीकरण गरेको छ । सोही अनुसार फोरजी सब्सक्राईव गरी सेवा लिईरहने सेवाग्राहीहरुलाई भने एक्टिभ युजरको क्याटागोरीमा राख्ने गरिएको प्राधिकरणले जानकारी दिएको छ ।
गत वर्षको अन्त्यसम्म नै नेपालभर फोरजी सेवा विस्तार गरिसकेको घोषणा गरेको नेपाल टेलिकमले सबै जिल्लाहरुमा फोरजी सेवा पुगेसँगै ग्राहकहरुको संख्या पनि बढेको बताएको छ ।
टेलिकमका प्रवक्ता राजेश जोशीले केही क्षेत्रबाहेक सबै क्षेत्रमा टेलिकमको फोरजी सेवा पुगिसकेकाले ग्राहकको संख्या पनि बढ्दै गएको बताए ।
‘अझै केही क्षेत्रमा विभिन्न कारण फोरजी सेवा विस्तार अझै गर्न सकिएको छैन,’ उनले भने ‘तर, विस्तार भईसकेका स्थानमा भने ग्राहकको संख्यामा वृद्धि हुँदै गएको छ ।’
टेलिकमले फोरजी सेवा दुई प्रकारले उपलब्ध गराउने गरेको छ । टेलिकमको एउटा फोरजी सेवा टावर एन्टेना राखेर हो भने अर्को सेवा सिष्टमले । प्रवक्ता जोशीका अनुसार फिजिकल्ली टेलिकमको सेवा ८५ प्रतिशतमा पुगिसकेको छ भने लजिकल्ली ८८ प्रतिशतमा पुगेको छ ।
कोभिडका कारण उपकरण आयातमा समस्या हुनका साथै अन्य जडान गर्न समेत कठिन भएकोले लक्षित सीमाभित्र रहेर कार्य सम्पादन गर्न नसकिएको जोशीले जानकारी दिए ।
नेपाल टेलिकमले वि.स २०७३ सालदेखि नेपालमा फोरजी सेवाको विस्तार सुरु गरेको हो । पहिलो चरणमा काठमाडौंमा र पोखरामा मात्रै विस्तार भएको यो सेवा गत वर्षदेखि नेपालभर विस्तार गर्ने गरी परियोजना अघि बढाइएको हो ।
कम्पनीले सबै जिल्लाहरुमा फोरजी सेवा सुरु गरिसकेको भएपनि केही जिल्लाका केही स्थानमा भने विभिन्न अवरोधका कारण काम गर्न सकेको छैन ।
स्थानीय जनता, वन मन्त्रालय, मौसम, कोरोना महामारीलगायतका समस्याका कारण अझै कुल स्थानीय तहको १५ प्रतिशत स्थानीय तहमा फोरजी सेवा विस्तार गर्न नसकिएको टेलिकमका प्रवक्ता राजेश जोशी बताउँछन् । उनका अनुसार नेपालभर हालसम्म ८५ प्रतिशत बढी क्षेत्रमा टेलिकमको फोरजी सेवा विस्तार भइसकेको छ ।