बाग्मती प्रदेशमा पनि ७० प्रतिशत अंक ल्याए सवारी साधनको लाइसेन्सका लागि ट्रायल पास हुने

काठमाडौं। बाग्मती प्रदेशमा पनि ७० प्रतिशत अंक ल्याए सवारी साधनको लाइसेन्सका लागि ट्रायल पास हुने व्यवस्था लागु गरिने भएको छ।सोमबार बसेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राई र सात वटै प्रदेशका यातायात मन्त्रीहरुले अनुमतिपत्र परीक्षा संचालन निर्देशिका २०७७ तत्काल लागु गर्ने निर्णय गरेका छन्। यसका लागि सातै प्रदेशहरु सहमत भएका छन्। यसभन्दा अघि गण्डकी प्रदेशको यातायात कार्यालयले मात्र यस्तो व्यवस्था लागु गरिरहेको थियो।

सरकारले दुई वर्ष अगाडि सवारी चालक अनुमतिपत्र परीक्षा संचालन निर्देशिका २०७७ को सबै प्रदेश कार्यालयहरुले अनिवार्य कार्यान्वयन गर्ने भनिएको थियो। तर यस्तो व्यवस्था गण्डकी प्रदेशले मात्र लागु गरिरहेको थियो। बागमती प्रदेशले भने यस्तो व्यवस्था हालसम्म लागु गरेको थिएन।

यो सँगै अब काठमाडौं उपत्यकाभित्रका सबै यातायात कार्यालयहरुले लाइसेन्सको लागि लिइने ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने व्यवस्था लागु गर्ने भएका छन्। यसले हाल ट्रायल फेल हुनेको संख्यामा ४० प्रतिशतले कम हुने भएको छ। यस्तो व्यवस्था नहुँदा ट्रायल फेल हुनेको संख्या ४० प्रतिशत धेरै थियो।

सुधारिएको व्यवस्था अनुसार ट्रायलका दौरान समावेश हुने विभिन्न पक्षलाई आधार मानेर अंक दिइनेछ। ट्राफिक लाइट, उकालो(ओरालो, स्पिड ब्रेकर, पार्किङ लगायतलाई आधार मानेर फरक फरक अंक छुट्याइने छ। जसबाट ७० अंक ल्याउने पास हुने व्यवस्था गरिएको छ।

अहिले एउटा गल्ती गर्ने बित्तिकै परीक्षार्थी फेल हुन्छन्। फेल हुनेहरुले लाइसेन्स पाउन दलाल र कर्मचारीलाई घूस खुवाएर वा आर्थिक लेनदेनको बाटो प्रयोग गर्छन्। जसका कारण यातायात कार्यालयहरुमा हुने अनियमितता समेत रोकिने अपेक्षा विभागको छ।

साथै उक्त निर्णयले अनलाइन फर्म भर्नेबारे आउने समस्याहरुको बारेमा यातायात व्यवस्था विभागले प्रदेशहरुसँग आवश्यक पहल गर्ने र प्रदेशले यस सम्बन्धमा आएका विभागसँग समन्वय गरी समाधान गर्ने भनिएको छ। यसका लागि विभागले प्रदेशहरुसँग समन्वय गर्न एकजना फोकल पर्सन राख्ने व्यवस्था गर्ने भएको छ।

यस्तै लाइसेन्सको वितरण सम्बन्धमा विभागले कार्ड ट्रयाकिङ सिस्टम विकास गर्ने र कार्यान्वयनमा ल्याउने भएको छ।

हाल १० लाख लाइसेन्स स्मार्ट कार्ड भएपनि कार्ड ट्रयाकिङ सिस्टम नहुँदा त्यसको औचित्य देखिएको छैन।

साथै अब नयाँ लाइसेन्स लिने वा नवीकरण गरिने बेला गरिने स्वास्थ्य परीक्षणको लागि नेपाल मेडिकल काउन्सिलबाट अनुमति प्राप्त चिकित्सकको सिफारिस मान्य हुने गरी व्यवस्थापन गर्ने समेत निर्णय गरिएको छ।

परीक्षणकालीन लाइसेन्सको सम्बन्धमा सवारी चालक परीक्षा संचालन गर्ने सबै कार्यालयहरुले राजश्व बुझाएकै दिन परीक्षणकालिन लाइसेन्स जारी गरी वितरण गर्ने व्यवस्था मिलाइने भएको छ। यस्तै यातायात व्यवस्था कार्यालयहरुले सार्वजनिक यातायातमा सहचालकहरुको निम्ति परिचालक अनुमतिपत्रको व्यवस्था गरी क्रमश कार्यान्वयन गरिने भएको छ।

उक्त निर्णय अनुसार अबदेखि विदेशमा रहेका नागरिकले समेत आफ्नो लाइसेन्स नवीकरण गर्न सक्ने व्यवस्था मिलाइने भएको छ। यसका लागि लिइने बायोमेट्रिक एवं मेडिकल जाँचपास आवश्यक पर्ने हुँदा सम्बन्धित नेपाली राजदुतावासबाट समेत बायोमेट्रिक एवं स्वास्थ्य परीक्षण गर्ने व्यवस्था समेत मिलाउन पहल गरिने भएको छ।

तीन पाङ्ग्रे सवारी ई रिक्सा चलाउन समेत लाइसेन्सको व्यवस्था गरिने भएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स