काठमाडौं । यातायात व्यवस्था विभागले आगामी आइतबारदेखि अनलाइनबाटै लाइसेन्सको लागि फारम भर्न पाउने व्यवस्था गरेको छ । विभागले दैनिक १५ हजार आवेदन क्षमता थेग्न सक्ने अनलाइन सवारीचालक अनुमति पत्र (लाइसेन्स) प्रणाली ल्याउन लागेको विभागका इन्जिनियर सन्तोष पोखरेलले जानकारी दिए ।
विभागले नयाँ सिष्टम सञ्चालनमा ल्याएर भुक्तानी प्रणाली सहित नयाँ अनलाइन लाइसेन्स सिष्टम सञ्चालन गर्न लागेको हो । यसैबीच काठमाडौं तथा देशैभरका यातायात कार्यालयहरूले अगामी बैशाख मसान्तसम्म सबै पेन्डिङ आवेदकको परीक्षा लिने गरी ट्रायल परीक्षा लिइसकेका छन ।
विभागले बैशाख भित्र बायोमेट्रिकको लागि यातायात कार्यालय नजाने आवेदकको आवेदन खारेज गरेको छ । यातायात विभागले जेठ ४ गतेबाट आवेदन खुलाउने तयारी गरेपनि सिस्टममा प्रविधिक समस्या आएका कारण आजबाट सञ्चालनमा सिष्टम सञ्चालन गर्न सकेन ।
सिस्टममा समस्या नआए अगामी आइतबारसम्म अनलाइन आवेदन खुलाउने तयारी विभागले गरेको छ । ‘सिस्टमको अझै केहि काम बाँकी नै छ, शुक्रबारसम्म सकेर आगामी आइतबारबाट आवेदन तयारी गरिएको छ,’ उनले भने । सेवाग्राहीले राजस्व अनलाइन मार्फत भुक्तानी गरेपछि मात्रै यातायात कार्यालय पुग्नु पर्ने गरी सिस्टम डिजाइन गरिएको हो ।
यसैगरी, आवेदकले दिएको आवेदनमा कुनै क्रुटि भएमा सेवाग्राही आफैले लगइन गरेर आफनो डेटा सच्याउन सक्ने सिष्टम तयार पारेको पनि विभागले जानकारी दिएको छ । अनलाइन लाइसेन्स आवेदन सिस्टममा मोबाइल नम्बर तथा लाइसेन्स नम्बरबाट लगइन पनि गर्न सकिन्छ । लगइन भइसकेपछि ड्यासबोडमा जान्छ र सेवाग्राहीले संघीयता अनुसार आफ्नो व्यक्तिगत विवरण भर्नु पर्नेछ ।
नयाँ नागरिकता तथा डक्युमेन्ट समेत सिस्टममै अपलोड गर्न सकिने छ । यद्यपि तथ्यांक भने रुजु गराउनु पर्नेछ । नयाँ सिष्टम लागू भएसैगै फारम बुझाउन तथा आपफरुले भरेको व्यक्तिगत विवरण सच्याउन तथा राजस्व तिर्दा लाइन लाग्नु पर्ने बाध्यता हट्ने छ ।