काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मोबाइलको अवैध आयात र कारोबार रोक्ने बताएका छन् । मोबाइलको अवैध आयात र कारोबार बढ्दा व्यवसायी मर्कामा परेकाले त्यसको रोकथापका लागि सरकार लागि परेको मन्त्री कार्कीले बताएका हुन् ।
‘अवैध मोबाइलको आयात र कारोबार बढ्दा व्यवसायी मारमा परका छन् । यो विषयमा सरकार जानकार छ,’ शुक्रबार आयोजित नेपाल मोबाइल व्यवसायी महासंघको प्रथम साधारण सभाको उद्घाटन गर्दै मन्त्री कार्कीले भने, ‘यस्ता आयात र कारोबार रोकथाम गरिने छ ।’
संचार मन्त्रीले मोबाइलको अवैध आयात र कारोबार रोक्नका लागि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू हुने बताए ।
नेपाल दूरसञ्चार प्राधिकरणले संचालन गर्ने मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम तदारुकताका साथ हुने उनले बताए ।
संचार मन्त्रीले आगामी दिनमा मोबाइल व्यवसायीहरुका लागि साथ र सहयोग गर्न सरकार तयार भएको भन्दै उनले आगामी दिनमा मन्त्रालयमा बोलाएरै छलफल गर्ने बताए ।
उनले देश समृद्ध हुने धेरै आधार भएको भन्दै मुलुकलाई अबको पुस्तालाई धनी पुस्ताको रुपमा चिनाउने चुनौती भएको बताए ।