२५ वर्ष अगाडिको दूरसञ्चार बजारको अवस्था र जोशी कर्मचारी भएर काम गर्दाको अनुभव

मुलुकमा दूरसञ्चार सेवाको शुरुआत वि सं. १९७३ मा भएको थियो । १०५ वर्ष अगाडिको सेवाको अवस्था र हालको अवस्था विस्तृतमा तुलना गर्न योग्य नै नहोला । तर, २५ वर्ष अगाडि र हालको अवस्था सर्सर्ती तुलना गर्दा पाठकवर्गलाई रोचक लाग्ने छ भन्ने अपेक्षा लिई सो सम्बन्धमा नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीको लेख ।

दूरसञ्चारमा जागिर पाउनु पूर्वको अवस्था

२५ वर्ष अगाडि (वि.सं. २०५१ ) को चर्चा गर्ने हो भने मुलुकमा तामाको तारबाट चल्ने टेलिफोन सेवा मात्र थियो । मुलुकभरिका करिव १२–१५ प्रमुख सहरहरूमा गरी कूल २ लाख लाइन मात्र सञ्चालनमा रहेको थियो भने नयाँ लाइन जडानका लागि निवेदन दिने सम्भावित ग्राहकहरूले लाइन जडानका लागि संस्थानमा बुझाएको निवेदनको प्रतिलिपी लिएर वर्षौ कुर्नु पर्ने अवस्था थियो ।

मुलुकमा दूरसञ्चार सेवाको विकास विस्तारका लागि यातायातका साधनको अपर्याप्तता, बाटोघाटोको असुविधा, अन्तर्राष्ट्रिय बजारमा दूरसञ्चार सेवा तुलनात्मक रुपमा महँगो रहेको अवस्था तथा समग्र प्राविधिक क्षेत्र नै ‘अविकसित’ रहेको अवस्थामा तात्कालीन दूरसञ्चार समिति, नेपाल दूरसञ्चार संस्थानमा कार्य गरी संस्थाको जग बलियो बनाउन योगदान दिनु हुने समस्त अग्रज व्यक्तित्वहरूमा नमन गर्दछु ।

वि.सं. २०३२ मा नेपाल दूरसञ्चार संथानको स्थापना भएको १९ वर्ष पछि वि.सं. २०५१ मा अस्थायी टेलिकम ईञ्जिनियरको रुपमा सेवा प्रवेश गरेको थिएँ। त्यो समयमा कुनै नयाँ आयोजना आउने भयो भने संस्थानको आवश्यकतानुसार प्राविधिक जनशक्ति लिने गरिन्थ्यो।

भर्खरै इञ्जिनियरिङको डिग्री पूरा गरेर स्वेदश फर्किएको अवस्था थियो । एउटै युनिभर्सिटिमा इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक इञ्जिनियरिङ विषय मै एक वर्ष अगाडिको दबतअज ३–जना सिनियर दाईहरु मध्ये २–जनाले ३–महिना अगाडि मात्र संस्थानमा जागिर खानु भएको रहेछ। यसो बुझ्दै जाँदा तुरुन्तै अर्को पदपूर्ति हुने सुनिएन । त्यो समयमा अर्को विकल्प भनेको नेपाल विद्युत प्राधिकरण र नेपाल वायु सेवा निगम थियो, तर ती स्थानहरुमा पनि पदपूर्ति हुने खासै जानकारी पाइएन ।

त्यस पछि शुरु भयो, कम्प्युटर इस्टिच्युटमा केहि समय विभिन्न प्रोग्रामहरू सिक्ने र केहि समय पछि एमएस वर्ड, एक्सेलको ट्रेनिङ दिने गर्थे । घरघरमा कम्प्युटर र ल्यापटप आइसकेको जवाना थिएन त्यो । कम्प्युटर सिक्न आउनेहरूमा बिहानको समयमा प्रायः क्याम्पस पढ्दै गरेका विद्यार्थी हुन्थे भने बिहानीसत्रमा स्कूलमा पढाउने शिक्षक शिक्षिका तथा एनजीओ÷आईएनजीओमा जागिरका लागि दरखास्त दिने इच्छा भएका व्यक्तिहरू प्राय दिउँसोको समयमा आउथे ।

करिव एक महिना कम्प्युटर इस्टिच्युटमा हल्लिंदै गर्दा एकजना स्कूले साथी भेट भयो। हामी ईञ्जिनियरिङ गर्न विदेश गयौं तर त्यो साथी त स्थानीयस्तर मै कम्प्युटर सम्बन्धि ज्ञान लिएर ४–५ वर्ष मै विज्ञ भइसकेको थियो । साथीहरुले ‘कोरे’ भन्ने म्यागेजिन निकालिसकेका थिए । बजारमा सजिलै पाइन्थ्यो पाइँदैन थियो थाहा भएन, तर साथीले तिमीलाई काम लाग्छ भनेर पुराना प्रकाशनहरु जम्मा गरेर ८–१० वटा उपलव्ध गरायो ।

त्यसबेलाको कुरा गर्ने हो भने त्यो म्यागेजिनमा यति व्यावहारिक विषयहरु समावेश गरिएको रहेछ कि मैले कम्पुटर सम्बन्धि पुस्तकमा झट्टै नपाइने धेरै ज्ञान हासिल गर्न सकें । यो ज्ञानले गर्दा त्यस पछिको २–३ महिना निकै व्यस्त भइयो २ वटा इन्स्टिच्युटमा दिनको २–२ वटा कक्षा लिने काम गरियो । नयाँ विषयवस्तु सिक्दै सिकाउँदै गर्दा निकै रमाइलो लाग्थ्यो, समय वितेको चालै पाइएन ।

आखिर एक दिन ईञ्जिनियरिङ गर्दाका साथीहरुबाट थाहा भयो कि नेपाल दूरसञ्चार संस्थानमा इञ्जिनियरको सिट खोलेको रहेछ । साथीहरु मिलेर गयौं केन्द्रीय कार्यालय, पुतली बगैंचा, सिंहदरवार दरखास्त दिन गयौं ।

केन्द्रीय कार्यालय जाँदा जीवनमा पहिलो पटक उच्च व्यवस्थापनका पदाधिकारीको कार्यकक्ष बाहिर ‘महाप्रबन्धक’, ‘नायव महाप्रबन्धक’ लेखेको देखें। यो ‘नायव’ भन्ने शव्द निकै अनौठो लागेको थियो । विद्यालयमा इतिहास पढ्दा फलानो महाराजा महारानीको ‘नायव’ भई फलानोले राजकाज सम्हालेको भन्ने त पढेको हो, तर नायव शब्दको खास प्रयोग भने पहिलो पटक देख्ने मौका मिलेको थियो ।

जहाँसम्म सम्झना छ, नेपाल दूरसञ्चार सँस्थानमा अस्थायी इञ्जिनियरको पदपूर्ती अन्तर्वार्ताबाटै हुने चलन रहेकोमा पहिलो पटक हाम्रै पाला देखि लिखित परिक्षा लिने र सोबाट सटलिष्ट हुनेहरूको अन्तर्वार्ता लिने प्रणाली शुरु भएको थियो । लिखित परीक्षामा ईञ्जिनियरिङ अध्ययन गर्दा कै विषय–वस्तु धरै हुन्थ्यो भने व्यावहारिक ज्ञानका लागि केहि हदसम्म कोरे म्यागेजिनबाट प्राप्त ज्ञानले सहयोग ग¥यो। लिखित परिक्षामा त पास भइयो, तर अब शुरु भयो अन्तर्वार्ताको चिन्ता ।

अन्तर्वार्तामा कति जना हुने हुन्, के के सोध्ने हुन् – जे पनि सोध्न सक्छन् रे भन्ने भए पछि संस्थानको बारेमा बुझ्न उही सिनियर दाइहरूलाई पटक पटक भटेर ज्ञान आर्जन गरियो।

त्यतिबेला समयमा दूरसञ्चारमा प्राविधिक रुपले मुख्यतः ३ प्रकारको प्रविधिमा काम हुन्थ्यो – स्विचिङ, ट्रान्समिसन र आउटसाइड नेटवर्क । केहि दिन पछि अन्तर्वार्ताको दिन आयो । अन्तर्वार्तामा पढाइ सम्बन्धि सोध्नुका साथै इर्एञ्जिनियरिङको पढाइ कहिले पूरा भएको, हाल के गर्दै रहेको आदि प्रश्न सोधिएको थियो।

कम्प्युटर इस्टिच्युटहरूमा ३–४ महिनादेखि ट्रेनिङ दिने गरेको भन्ने व्यहोरा प्रष्ट गरेको र अन्तर्वार्ता दिएको त्यो ठूलो हलको सम्झना अझै ताजै छ । अन्तर्वार्ताको नतिजा आयो, पास भइयो । स्विचिङ, ट्रान्समिसन र आउटसाइड नेटवर्क मध्ये आउटसाइड नेटवर्कमा काम गर्न पाए हुन्थ्यो भन्ने मनमा थियो ।

स्विचिङ, ट्रान्समिसन र आउटसाइड नेटवर्क मध्ये आउटसाइड नेटवर्कमा काम गर्न पाए हुन्थ्यो भन्ने मनमा थियो, तर ईञ्जिनियरिङ सके पछि पहिलो काम नै कम्प्युटर इस्टिच्युटमा ट्रेनिङ दिने गरेकोले तालिम केन्द्रमा नियुक्ती दिइन्छ कि भन्ने मनमा कताकता लागिरहेको थियो। आखिर, नियुक्ती पत्रमा लेखिए अनुसार जागिरको शुरुआत अस्थायी टेलिकम इञ्जिनियरको रुपमा स्विचिङ आयोजना कार्यान्वयन विभागबाट भयो।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स