आविस्कार केन्द्रमा रिसर्च एन्ड डेभलपमेन्ट हब तथा हाइ-टेक क्लासरुम मोडल स्थापना

काठमाडौं । इजरायली राजदूतावासले राष्ट्रिय आविस्कार केन्द्रमा रिसर्च एन्ड डेभलपमेन्ट हब तथा हइ टेक क्लासरुम मोडल स्थापना गरेको छ।

इजरायल सरकारले इजरायली ढाँचामै ल्यापटप, वेबक्याम, डिजिटल डिस्प्ले स्क्रीन, इन बिल्ट साउन्ड सिस्टम, एयर कन्डिशन, ग्लास बोर्ड तथा फर्निचरलगायत आवश्यक सरसामान र उपकरणसहितको अनुसन्धान तथा विकास केन्द्रको स्थापना गरेको हो।

अनुसन्धाताहरुबीच नवीन अवधारणाहरु आदान प्रदान गर्ने उद्देश्यले स्थापित यो केन्द्र र हाइटेक कक्षाकोठा नेपालकै पहिलो रहेको बताइएको छ। यसले नयाँ अन्तरराष्ट्रिय अनुसन्धान र विकासका क्षेत्रमा काम गरिरहेका संस्थाहरुसँगको सहकार्यमा आइडियाहरु शेयर गर्ने साझा चौतारीको पनि काम गर्ने बुझिएको छ।

यो केन्द्र सबैका लागि खुला हुने र यहाँ डिजिटल स्पेसकोमा ध्यमबाट मानिसहरुको सिर्जनशीलता निखार्न भोतिक सुविधा उपलब्ध गराइनेछ।

कार्यक्रमको उद्घाटन समारोह राष्ट्रिय आविस्कार केन्द्र कीर्तिपुर भएको र समारोहमा इजरायली राजदूत हनान गोदर, डेपुटी चिफ अफ मिसन ताल स्वार्सम्यान तथा आविस्कार केन्द्रका अध्यक्ष महाबिर पुनलगायतको उपस्थिति रहेको थियो ।

समारोहमा ती कक्षाकोठामा कसरी कक्षा सञ्चालन हुन्छन् भन्ने प्रस्तुति दिइएको थियो। कार्यक्रममा इजरायलका यजामत ३६० आन्ट्रपेनरशिप सेन्टर नामक संस्थासग भर्चुअल बैठक पनि गरिएको थियो।

समारोहलाई सम्बोधन गर्दै राजदूत गोदरले भने, ‘विज्ञानमा भइरहेको परिवर्तनको अनुसन्धानमार्फत् नै हाम्रो जीवनशैलीमा सुधार ल्याउन सकिन्छ। इजरायलको प्रगति यसैगरी भएको हो र नेपालको प्रगतिका लागि अघि बढिरहेको यो संस्थासँग जोडिन पाउँदा निकै खुसी छु।’

यसै सन्दर्भमा डीसीएम स्वार्सम्यानले भने, ‘नेपाली अनुसन्धाता तथा जनाताले देश विकासका ठूला आइडियाहरु निकाल्न सक्ने भएकाले यो हबले निकट भविष्यमा आइडियालाई फलाउने फुलाउने बीउ झैं रहेको छ।’

उनले आउँदा दिनमा यस्ता हबमार्फत् नेपालले विश्वमा हाइ टेक स्तरका आइडियाहरु निर्यात गर्न सक्नेमा आफू आशावादी भएको बताए।

आविस्कार केन्द्रका अध्यक्ष महाबिर पुनले भने, ‘इजरायल मरुभूमि भए पनि इनोभेसनको क्षेत्रमा उर्वर छ। यो प्रविधिका क्षेत्रमा निकै ठूलो कदम हो। हामी नयाँ प्रविधि ल्याउन, परीक्षण गर्न तथा तिनीहरुलाई प्रभावकारी रुपमा प्रयोग गर्न प्रयासरत छौं। हामी यो केन्द्रलाई इजरायल तथा अन्य देशका इनोभेसन सेन्टरहरुसँग समन्वय गर्नका लागि प्रयोग गर्नेछौं। यहाँ हामी देशको विकासलाई प्रबर्द्धन गर्नका लागि स्थानीय आविस्कारक तथा वैज्ञानिकहरुलाई फलाउने फुलाउने गर्नेछौं। हामीहरु यहाँ आउने आविस्कारकहरुलाई सहयोग गर्ने प्रयास गर्दैछौं भने इजरायलसँग दीर्घकालीन सहकार्य गर्ने अपेक्षामा छौं।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स