सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमाः सञ्चार मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । अनलाइन पत्रकार संघको ११ औं साधारण सभामा मन्त्री कार्कीले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताएका हुन् ।

मिडियाको मुख्य काम जनमत निर्माण गर्ने रहेको बताउँदै त्यसका लागि अनलाइन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको मन्त्री कार्कीले उल्लेख गरे । पत्रकारिता पेसाको शुद्विकरणका लागि अनलाइन पत्रकार संघ जस्ता विधागत संस्थाहरुको महत्वपूर्ण भूमिका हुने उनले बताए । उनले अनलाइन सञ्चारमाध्यमलाई पनि अन्य सञ्चारमाध्यम सरह लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकार प्रतिवद्व रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, उपाध्यक्ष रमेश बिष्ट, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल लगायतका अन्य वरिष्ठ पत्रकारहरुले शुभकामना मन्तब्य राखेका थिए ।

अनलाइन पत्रकार संघको ११ औं साधारण सभा पुस १७ गते संघका अध्यक्ष शिवप्रसाद सत्यालको अध्यक्षतामा सम्पन्न भएको हो ।

अक्षयकोष स्थापना

अनलाइन पत्रकार संघले ११ औं साधारण सभाको अवसर पारेर ‘अनलाइन जर्नालिजम अवार्ड’ का लागि ५ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको छ । कोष स्थापनाका लागि कम्युटर एसोसिएशन नेपाल (क्यान महासंघ) का पूर्व अध्यक्ष ई. बिनोद ढकालले ५ लाख रुपैयाँ अनलाइन पत्रकार संघलाई हस्तान्तरण गरे ।

अनलाइन जर्नालिजम अवार्ड ढुंगानालाई

अनलाइन पत्रकार संघले प्रत्येक २ बर्ष वर्षमा प्रदान गर्ने अनलाइन जर्नालिजम अवार्डबाट उकेरा डटकमका सम्पादक कृष्ण प्रसाद ढुंगाना (केपी ढुंगाना) सम्मानित भएका छन् । संघको साधारण सभाको अवसरमा सो पुस्कार प्रदान गरिएको हो । उक्त पुरस्कार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रदान गरे । ढुंगानालाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो । ढुंगाना अनलाइन पत्रकार संघका संस्थापक अध्यक्ष समेत हुन् ।

बरिष्ठ पत्रकार कुवेर चालिसेको संयोजकत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, महासंघका पूर्वसभापति तारानाथ दाहाल, नेपाल पत्रकार महासंघका पूर्वसचिव रामप्रसाद दाहाल र अनलाइन पत्रकार संघका सदस्य सचिव शिवप्रसाद सत्याल सम्मिलित समितिले ढुंगानालाई पुरस्कारको लागि छनोट गरेको हो ।

कार्यक्रममा पत्रकार कुवेर चालिसेले पहिलो पटक पुरस्कार वितरण गरिएकाले अनलाइन पत्रकारितामा पुर्याएको योगदान र लेखेका समाचारहरूको आधारमा ढुंगानालाई पुरस्कृत गरेको बताए । यस्तै उनले आगामी वर्षदेखि संघका सदस्यहरूलाई उनीहरूले लेखेको समाचारका आधारमा मुल्यांकन गर्दै पुरस्कृत गरिने बताए ।

संस्थापकहरु सम्मानित

संघको ११ औं साधारण सभाको सन्दर्भमा संघका ८ जना संस्थापकहरुलाई सम्मानित गरिएको छ । संघले अनलाइन पत्रकारिताको सुरुवाती दिनमा नै अनलाइन पत्रकारहरुलाई संगठित गरी अनलाइन पत्रकारिताको विकास र सम्बद्र्वन तथा पेशागत क्षमता अभिवृद्वि एवं सुरक्षाका लागि अनलाइन पत्रकारहरुलाई संगठित गरेर पु¥याउनुभएको महत्वपूर्ण योगदानको स्मरण गर्दै सम्मान गरिएको हो ।

सम्मानित हुने संस्थापकहरुमा कृष्ण प्रसाद ढुंगाना (केपी ढुंगाना), रामप्रसाद दाहाल, सुदर्शन घिमिरे, प्रवेश सुवेदी, नरदेव पाण्डेय, बाबुराम अर्याल, साबित्री घिमिरे र धर्मराज अधिकारी रहेका छन् ।

यसैगरी संघले फ्रिडम फोरम, कम्युटर एसोसिएशन नेपाल (क्यान महासंघ) का पूर्व अध्यक्ष ई. बिनोद ढकाल र उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्दप्रसाद ढकाललाई पनि सम्मान गरेको छ । कोरोना महामारीको समयमा संघमा आवद्व सम्पूर्ण सदस्यहरुको ‘कोरोना बीमा’ गरी सहयोग गरेको कदर गर्दै सम्मान गरिएको हो ।

क्यान महासंघ पूर्व अध्यक्ष ई. ढकाललाई अनलाइन जर्नालिजम अवार्ड वितरणका लागि अक्षयकोष स्थापनाका लागि योगदान गरे वापत सम्मान गरिएको हो । यस्तै उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकाललाई संघले यस बर्ष प्रदान गर्ने अनलाइन जर्नालिजम अवार्ड तथा अन्य व्यवस्थापकीय कार्यका लागि आवश्यक रकममध्ये रु एक लाख प्रदान गर्नुभएकोले सम्मान गरिएको हो ।

प्रतिवेदन पेश

संघको ११ औं साधारण सभामा सचिव डिल्लपीप्रसाद सापकोटाले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष गोविन्द अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । सो प्रतिवेदन सर्वसम्म्तले पारित गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स