नेपालको आफ्नै स्याटेलाइट राख्न ४ कम्पनी प्रारम्भिक रुपमा छनोट

काठमाडौं । सरकारले आफ्नै भू-उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययन गर्न ४ कम्पनी प्रारम्भिक रुपमा छनोट गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको स्याटेलाइट प्रक्षेपण गर्नका लागि आवश्यक नियमन, कानूनी संरचना, व्यावसायकि ढाँचा र बिड डकुमेन्ट तयार गर्न ४ वटा कम्पनी सूचीकृत गरेको हो ।

प्राधिकरणले फ्रान्सको युरोकन्सल्ट, टर्कीको टर्कस्या, युएईको एसथ्री टेल इंक र थाइल्याण्डको थाइकमलाई सूचीमा राखेको हो । यी ४ कम्पनीले पेश गर्ने प्राविधिक र आर्थिक मूल्यांकनका आधारमा उत्कृष्ट एक कम्पनीलाई स्याटेलाइट प्रक्षेपणसम्बन्धी काम अघि बढाउन प्राधिकरणले अनुमति प्रदान गर्नेछ ।

प्राधिकरणले यसअघि पनि स्याटेलाइट जडान प्रक्रिया अघि बढाएको थियो । तर, उक्त प्रस्तावमा उत्कृष्ट कम्पनीको आवेदन नपरेको भन्दै प्राधिकरणले स्याटेलाइट जडानको प्रक्रिया रद्द गरेको थियो । गत वर्षको मङ्सिरमा पुरानो प्रस्ताव रद्द गरेर प्राधिकरणले भू-उपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन मोडालिटीको नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको थियो । प्राधिकरणको प्रस्तावअनुसार गत पुसमा विभिन्न देशका ९ वटा कम्पनीले आशयपत्र बुझाएका थिए ।

आशयपत्र पेस गरेका ९ कम्पनीमध्ये प्राधिकरणले ५ कम्पनीलाई प्राविधिक रुपमा योग्य ठहर गर्दै आर्थिक प्रस्ताव माग गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स