काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.२० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको कुल आम्दानी घटेसँगै कम्पनीको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको ग्राहकसँगको सम्झौता आम्दानी १.११ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी ३३ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ५.४९ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपैयाँ ४० पैसा घटेर ३८ रुपैयाँ ६६ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५३५ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.८३ गुणा रहेको छ।
१८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७८ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ सञ्चित छ।