काठमाडौं । लोडसेडिङको समयमा रहेको अतिरिक्त विद्युत खपत गरेको भन्दै नेपाल विद्युत प्राधिकरणले उद्योगहरुलाई थप बिल केहि वर्षदेखि पठाइरहेको छ । जसको तिर्ने आधार नभएको भन्दै उद्योगीहरुले अलमलमा छन् । यहि बीचमा धेरै पटक विद्युत कटौति समेत भैसकेको छ ।
अहिले पनि केहि उद्योगको प्राधिकरणले लाइन काटेको नै छ । यसको समाधानको लागि आयोग नै गठन गरेर प्रतिवेदन तयार गरे पनि अहिलेसम्म समाधान हुन सकेको छैन ।
तर उद्योगको लाइन काटेर बन्द अवस्थामा राख्नु भन्दा बक्यौता तिर्नु नै उचित रहेको भन्दै केहि उद्योगहरुले पहिलो किस्ता तिरेका छन् ।
अहिलेसम्म १३ वटा उद्योगले बक्यौता तिरेको जनाकारी प्राधिकरणले गराएको छ ।
उद्योगी रामचन्द्र संघाई भन्छन्, ‘मर्नु भन्दा बौलाउनु निको ठानेर केहि उद्योगले किस्ता तिरेका हुन् । तिर्ने सबै उद्योगको भनाई बन्द गर्दा धेरै घटा हुने भयो त्यसकारणले किस्ता तिर्नु परेको भन्ने छ । यो पैसा तिर्नु भनेको नखाएको विष पनि ओकलेको हो ।’
डेडिकेटेड र ट्रङ्कलाइन विद्युतको बारेमा आयोगले अध्ययन गरिसकेकाले उक्त आयोगको प्रतिवेदनलाई कार्यान्वयन गरेर अगाडि बड्नुपर्नेमा एकतर्फी अघि बढेको उद्योगीको भनाई छ ।
यो पटक लाइन काट्ने समयमा समेत उद्योगीसँग छलफल हुँदाहुँदै एक्कासी काटिएको हो । उद्योगीहरु प्राधिकरणमै प्राधिकरणका कार्यकारी निर्देशक कुनमान घिसिङलाई भेट्न समेत गएका थिए । तर एक्कासी लाईन काटिएको अवस्था छ ।
यो देशको अर्थतन्त्रलाई नै घाटा हुने काम भएको संघाईको भनाई छ ।
मुलुकको अर्थतन्त्र मन्दीमा रहेका बेला उद्योगको लाइन काट्दा थप समस्या उत्पन्न हुनसक्ने निश्चित भएको उनको भनाई छ ।
प्राधिकरणले प्रयोग गरेको प्रमाण देखाउन नसकिरहेको अवस्थामा १३ उद्योगले किस्ता तिर्नु भनेको बाध्यता नै भएको उनको भनाई छ ।