जुम्लामा दशैंको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार

जुम्ला । जुम्लामा यस वर्षको दशैंको समयमा मात्रै १६ करोडभन्दा बढीको भेडा, खसीलगायतको कारोबार भएको छ ।

चन्दननाथ नगरपालिका पशुपक्षी विकास शाखा प्रमुख वीरबहादुर रावलले सदरमुकाम खलंगा बजार क्षेत्रबाट मात्रै १६ करोड ३२ लाख ३१ हजारको भेडा, खसी, बोका तथा राँगाभैंसीको बिक्रीवितरण भएको जानकारी दिए ।

शाखा प्रमुख रावलका अनुसार जिल्लाकै भेडापालक किसान र बाहिरबाट ल्याइएका समेत गरेर यहाँ सात हजार ९२८ भेडा तथा खसी बिक्री भएका छन् । यस्तै १५ करोड २३ लाख २३ हजारका भेडा, ७७ लाख ९२ हजार रुपैयाँका खसी र ३१ लाख १६ हजारका राँगा तथा भैसीहरू खरिद बिक्री भएका छन् । जसमा चार सय ८७ खसी, तीन वटा राँगा र ८२ वटा भैंसी रहेका छन् ।

यहाँ स्थानीय भेडाको अधिकतम मूल्य २८ हजार, न्यूनतम १० हजार भएकामा औसत मूल्य १९ हजार तोकिएको थियो । जुम्ली खसीको अधिकतम मूल्य २४ हजार र न्यूनतम रु आठ हजार रहेकामा औसत रु १६ हजारमा बिक्री भएको जनाइएको छ । अधिकतम मूल्य रु ५० हजार र न्यूनतम रु २६ हजारमा किनबेच भइरहेका राँगाभैंसी औसत ३८ हजारमा बिक्री भएका थिए ।

विसं २०६८ देखि तिब्बती भेडाच्याङ्ग्रा ल्याउन छाडेपछि यहाँ जुम्ली भेडा, खसीबोका मात्रै बिक्रीवितरण हुने गरेका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार जुम्लामा ८८ हजार भेडा छन् ।

पछिल्लो समय कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूला, सिंजा गाउँपालिकाको नराकोट, हिमा गाउँपालिकाको जुगाड, बागबजार, तिला गाउँपालिकाको रारालिही, तातोपानी गाउँपालिकाको लिताकोट, पातारासी गाउँपालिकाको लासी बजार र उर्थुचौतारा, गुठीचौरी गाउँपालिकाको मणिसाँघुलगायत साना बजारमा समेत भेडा, खसीलगायतको कारोबार हुने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स