काठमाडौं । अमलेखगंजबाट लोथरसम्मको पेट्रोलियम पाइपलाइन भारतले अनुदानमा बनाइदिने सम्झौता गरेको छ । यस अयोजनासँगै अन्य २ आयोजना समेत गरि भारतको १५ अर्ब रुपैयाँ अनुदानमा पेट्रोलियम परियोजना निर्माण गर्न नेपाल आयल निगम लिमिटेड र इन्डियन आयल कर्पोरेसनबिच बिहीबार दिउँसो दिल्लीमा सम्झौता भएको हो ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशनका डाइरेक्टर सेन्थल कुमारकाबीच भारत सरकारका पेट्रोलियम तथा नेचुरल ग्यास सचिव पंकज जैन तथा इण्डियन आयल कर्पोरेशनका प्रमुख भि सतिस कुमारको समुपस्थितिमा पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माण कार्यका लागि बीटुबी फ्रेमवर्क एग्रिमेन्टमा हस्ताक्षर गर्ने कार्य भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ ।
नेपाल आयल निगम र इण्डियन आयल कर्पोरेशनका पदाधिकारीहरुको समुपस्थितीमा भएको बीटुबी फ्रेमवर्क एग्रिमेन्टमा देहाय वमोजिमका परियोजनाहरुको कार्य अगाडि बढाउने समझदारी भएको हो ।
यस्ता छन् सम्झौताका बुँदा
भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको चारआलीमा १८ हजार ९०० किलोलिटर क्षमताको स्मार्ट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुने ।
नेपालको अमलेखगंजबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना भारत सरकारको अनुदानमा निर्माण हुने ।
चितवनको लोथरमा ९१ हजार ९०० किलोलिटर क्षमताको स्माट ग्रीनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमको लगानीमा निर्माण हुने ।
उल्लेखित परियोजनाहरुमा भारत सरकारको करिव १५ अरव रुपैयाँ अनुदान सहयोग रहनेछ ।