काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफ्नो ६२ औँ वार्षिकोत्सव मनाएको छ । बिहिवार एक समारोह आयोजना गर्दै वार्षिक उत्सव सम्पन्न गरेको हो ।
उक्त समारोहको सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कर्पोरेशनको भूमिकाका कारण केहि वस्तु बजारमा अभाव नै नभएको बताए । वस्तु अभाव होला भन्ने डर सरकारलाई रहेको अवस्थामा साल्ट ट्रेडिङ सुन्ने वित्तिकै ढुक्क हुने अवस्था रहेको मन्त्री भण्डारीको आशय थियो ।
उनले भने, ‘ केहि कुरा सर्टेज हुदाँ साल्ट ट्रेडिङ आम उपभोक्ता र सरकारको साथमा छ भन्ने अनुभुती हुने गरि काम गर्दै कृतिम अभावलाई समाधन गर्ने सवालमा पनि कर्पोरेशनले साथ दिदै जाने विश्वास छ।’
उनले ट्रेड युनियनहरुले व्यवसायिक विकासका लागि योगदान दिन सके संस्थागत विकासले अझ गति लिने मन्त्री भण्डारीले बताए । उनले नीतिगत रुपमा पनि कर्पोरेशनको सबलिकरणमा सरकारले कार्ययोजना सहित अघि बढने जानकारी पनि गराए ।
मन्त्रीले थपे ,‘नयाँ प्लान ल्याएर नेपाली बजारको एउटा विश्वसनीय आधार साल्ट ट्रेडिङलाई बनाउनुपर्छ । त्यसका लागि ठोस कार्ययोजना अघि बढोस् । हाम्रो मन्त्रालयको सुधार कार्ययोजनाभित्र पनि साल्ट ट्रेडिङलाई एउटा कम्पोनेन्ट मानेका छौं ।’
वार्षिक उत्सव समारोहमा साल्ट ट्रेडिङका अध्यक्ष प्रदिपलाल श्रेष्ठले यस संस्थाले दैनिक उपभोग्य सामाग्रीहरुको गुणस्तरीय एवम् सुपथ मूल्यमा सर्वसाधारण सेवा दिइरहेको बताए ।
कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनले आफ्नो सेवा प्रारम्भ गर्दा देखि नै सुपथ मूल्य, गुणस्तरीयता एवम सर्व सुलभतालाई मूलमन्त्रको रुपमा लिदै त्यही मूल्य मान्यता अनुसार आम उपभोक्ताको लागि सेवा प्रवाह गर्दै आएको बताइन् ।
वार्षिक उत्सवको अवसरमा सालट ट्रेडिङले लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कारबाट मानव कल्याण समाज, पनौती, काभ्रेपलाञ्चोकलाई ताम्रपत्रसहित १ लाख नगद प्रदान गरिएको छ ।
कर्पोरेशनको वृद्धि विकासमा योगदान पुयाएका अग्रजहरुको नाममा पुरस्कार र छात्रवृत्ति समेत प्रदान गरेको छ । उत्कृष्ठ कर्मचारीहरुलाई समेत नगद र प्रमाणपत्र सहति सम्मान गरेको छ ।