पेट्रोल र डिजेल दुबैको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटरमा १ रुपैयाँले घटाएको हो ।

आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाइएको निगमले जनाएको छ ।

निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः १ सय ६०.५०, १ सय ६२ र एक सय ६३ तथा डिजेल र मट्टितेल प्रतिलिटर क्रमशः १ सय ५१.५०, एक सय ५३ र एक सय ५४ तोकेको छ ।

आन्तरिकतर्फको हवाई इन्धनको मूल्य समायोजन भएर प्रतिलिटर १ सय ३२ कायम गरिएको छ । अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार पाँच तोकिएको छ ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल डिपोलाई सूचीकृत गरेको छ ।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएकाले स्थानीय बजारमा पनि समायोजन गरिएको निगमद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

एलपी ग्यासको खरिद मूल्यमा प्रतिसिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि हाललाई बिक्री मूल्य यथावत् नै राखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स