चिनीको सबै कोटा नरोत्तमको टिमलाई, आवेदन खुल्नु अघि मिलाइएको थियो सेटिङ

काठमाडौं । सरकारले ट्रेडिङ फर्मलाई उपलब्ध गराएको चिनी आयातको कोटा एउटै टिमले मात्रै पाएको छ । आवेदन खुलाउनु अघि नै सेटिङ मिलाएर ७ वटा ट्रेडिङ फर्मलाई कोटा प्रदान भएको पाइएको हो ।

नेपालमा चिनीको आयातमा विचौलियको काम गर्दै आएका नरोत्तम लोहिया (जैन) मार्फत वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोटा दिएको पाइएको हो ।

उनी मार्फत विभागले १९ हजार मेट्रिकटन चिनी आयातको लाइसेन्स ट्रेडिङ फर्मलाई प्रदान गरेको हो ।

नेपाललाई २५ हजार मेट्रिकटन चिनी दिने भारतले बताएको थियो । उक्त कुल परिमाणमा ६ हजार मेट्रिकटन चिनी आयात भएको छ । बाँकी रहेको १९ हजार मेट्रिकटन चिनी आयातको प्रक्रिया नै अघि बढेको थिएन ।

भारतले नेपाललाई गत वर्ष दिएको चिनी कोटा अहिलेसम्म आयात नभएपछि उक्त चिनी कोटा अहिले आयात गर्न प्रक्रिया अघि बढाइएको छ । तर यो काम सेटिङमा भएको थियो ।

सुरुमा चिनीलाई कच्चापदार्थको रुपमा प्रयोग गर्ने उद्योगलाई मात्रै कोटा दिने भनिएको थियो ।
सो अनुसार भारतबाट चिनी आयात गर्न इच्छा देखाएका १० उद्योग सरकारले नै छानेको थियो ।

भारतबाट चिनी आयात गर्न सरकारले नै कोल्ड ड्रिंक्स उद्योग, विस्कुट उद्योग, चकलेट उद्योगलाई आग्रह गरेको थियो ।

सरकारले आवेदन अनुसार १० उद्योग छनौट गरेको थियो ।

तर आयातको प्रक्रिया कसैले पनि अघि बढाएका छैनन् । भारतका नेशनल को-अपरेटिभ्स एक्सपोर्ट लिमिटेडसँग चिनी ल्याउनुपर्ने र तुलनात्मक रुपमा महँगो रहेको उद्योगले आयात गर्न मानेनन् ।

उद्योगले चिनी आयात गर्ने छाँट देखाएपछि गत हप्ता एक सूचना जारी गर्दै ट्रेडिङ कम्पनीलाई समेत आयात गर्न भन्यो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ५ दिन भित्र इच्छुक फर्म तथा कम्पनीले आवेदन दिन भनेको थियो । कम्पनीको कागजात सहित २ हजार ६ सय मेट्रिकटन भन्दा बढि चिनी आयात गर्न भनिएको थियो ।

जसमा ७३ वटा फर्मले इच्छा समेत देखाएका थिए । तर मयुरी ट्रेड लिंकलाई २८ सय मेट्रिकटन, प्रमाण ट्रेडर्सलाई २७ सय मेट्रिकटन, शिवाय इन्टरनेशनललाई २७ सय मेट्रिकटन, विशाल ट्रेड लिंकलाई २७ सय मेट्रिकटन , प्रमाण इन्टरनेशनल, सिटन इनटरप्राइजेज, शिव शंकर ट्रेड कन्सर्नलाई समेत २७ सय मेट्रिकटनको हिसावले चिनीको कोटा वितरण भएको छ ।

यो झट्ट हेर्दा विधिसम्मत चिनीको कोटा वितरण भएको देखिन्छ ।

तर सबै फर्म एकै समूहको देखिदा भने अचम्म पर्ने स्थिति छ । सबै कोटा पाउने फर्महरु नरोत्तम लोहिया (जैन) टिमको देखिएको हो । उनका नातागोताका चिनेका व्यक्तिको नाममा दर्ता भएका फर्मले मात्रै पाएको देखिएको हो ।

उनको टिम भन्दा बाहिर एउटा फर्मले समेत चिनी आयात गर्न पाएनन् । यसरी आयत गर्न वणिज्य विभाग र नरोत्तमको रेटिङ भएको खुलासा भएको छ । नरोत्तमले नै ७ वटा फर्मलाई चिनी वितरण गर्ने चाँजोपाँजो मिलाएको र सोहि अनुसार सूचना माग भएको थियो ।

नरोत्तमले भने आवेदन खुल्नु अगावै ७ वटा फर्मको आवेदन विभागमा छोडिसकेका थिए । आवेदन खुल्लाएको सूचनामा नै सुरुमा आवेदन दिनेलाई कोटा दिने उल्लेख छ । यो सबै सेटिङमा भएको स्रोतले बताउँछ । तर नरोत्तम भने हाम्रोअर्थसँग कुरा गर्दै त्यो विषयलाई नकार्छन् ।

उनी भन्छन्, ‘सेटिङ गरेर आवेदन गरेको हैन, त्यस्तैगरि मेरो टिमले मात्रै कोटा पाएको पनि हैन ।’
यस विषयमा वाणिज्य विभागले भने कुरा गर्न चाहेन ।

उद्योगले नल्याएको चिनीमा व्यापारीले भने किन गरे सेटिङ ?
उद्योगले चिनी ल्याउँदा आफ्नो प्रयोजनको लागि ल्याउने हो । चिनीको आयात सकिदा दशै लगभग सुरु हुन्छ । दुई महिना पर्खिएको खण्डमा चिनीको नयाँ उत्पादन सुरु हुने र सस्तोमा आयात गर्न सकिने उद्योगीहरुको आशय छ ।

तर ट्रेडिङ फर्मले भने आयात गर्दा दसै तिहारको समय सोझै बिक्रि गर्न सकिन्छ । त्यो समयमा नेपालमा चिनीको माग हुने र मूल्य पनि राम्रो पाउन सकिने व्यापारीको आँकलन छ ।

सोहि अनुसार सिमित व्यापारीले आयातको कोटा हात पारेर मूल्यमा खेल्ने दाउ गरेका छन् । यसै पनि यो वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनलाई सरकारले चिनी आयतको लागि सहजीकरण गरेको छैन । विगतमा भन्सार छुट कै व्यवस्था गर्दै आएको थियो ।

यी दुई संस्थानले आयात नगर्दा मूल्य बढ्ने आँकलन व्यापारीक फर्मको रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स