काठमाडौं । बजेटमा आएको करको विषयमा रहेर आजदेखि नै विवाद सुरु भएको छ । आर्थिक विधेयकले स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार महसुल १ प्रतिशतबाट बढाएर २.५ प्रतिशत र डण्डीमा १ रुपैयाँ अन्तशुल्क बनाउँदा नेपाल फलामे छड उत्पादक संघले विरोध जनाएको हो ।
नेपालमा विलेट आयत गरेर डण्डी बनाउने र स्पन्ज आइरन आयत गरि डण्डी बनाउने दुई खालका उद्योगहरु रहेका छन् । स्पन्ज आइरनको भन्सार बढ्दा आज सोहि प्रकारको उद्योगीहरुले पत्रकार सम्मेलन मार्फत गुनासो गरेका हुन् ।
नेपाल फलामे छड उत्पादक संघले सरकारले आर्थिक विधेयक २०८१ मार्फत् विलेट उत्पादनमा प्रयोग हुने स्पन्ज आइरनको आयातमा लाग्ने भन्सार महसुल बढाउँदा आफैंले घोषणा गरेको उद्योगलाई एक तह कम भन्सार लगाउने नीतिको उल्लंघन हुने बताएको छ ।
आन्तरिक उत्पादन बढाउन ठूलो भुमिका खेलिरहेका उद्योगलाई धरासायी बनाउने काम गरेकासमेत सरकारलाई आरोप लगाएको छ । देशमा १२ प्रतिशत भन्दा कम भ्यालु एडिसन हुने बिलेट आयातमा ५ प्रतिशत र ५० प्रतिशत भन्दा बढी भ्यालु एडिसन हुने स्पन्ज आइरनमा २.५ प्रतिशत भन्सार लगाउने नीतिले उद्योगको प्रतिस्पर्धात्मक र उत्पादकत्व क्षमता कसरी बढ्ने भन्दै प्रश्न गरेको हो ।
हाल १८ वटा मेल्टिङ उद्योगले ४५० मेगावाट विजुली खपत बताएको छ । उद्योगहरुले प्रतिमहिना २ अर्ब देखी ३ अर्बसम्म महसुल तिर्ने गरेका छन् । आर्थिक वर्ष २०७८/७९ को बजेटले मेल्टिङ उद्योगलाई प्रवर्धन गर्ने नीति लिनुअघि नेपालमा ६ वटा मेल्टिङ उद्योग थिए ।
सरकारले स्पन्ज आइरन आयात गर्दा लाग्ने ५ प्रतिशत भन्सार महसुललाई बनाउनुको साथै विलेट आयातमा प्रतिकेजी २.५ अन्तशुल्क लगाउने निर्णय गरेपछि १२ उद्योगमा थप २४ अर्ब रुपैयाँ थप लगानी भएको संघले जनाएको छ ।
हाल सञ्चालनमा रहेका १८ उद्योगमा ३६ अर्ब भन्दा बढी लगानी भइसकेको छ । चालु आर्थिक वर्षमा सरकारले भन्सार महसुल १ प्रतिशत र आन्तरिक उत्पादन भएको बिलेटबाट बन्ने छडमा प्रतिकेजी १ रुपैयाँअन्तशुल्क लगाउने निर्णय गर्दा समेत उद्योगहरु समस्यामा रहेका संघले बताएको छ ।
एउटा सरकारले उद्योग लगाउन छुट दिने उद्योगमा लगानी भएपछि अर्को सरकारले नीति परिवर्तन गर्ने अस्थिर व्यवस्था भयो भने आगामी दिनमा सरकारको नीतिलाई कसरी विश्वास गर्न सकिएलाभन्दै सरकार माथि प्रश्न गरेको हो ।
बजेटमा कच्चा पदार्थ र अन्तिम उत्पादनमा एक तहको भन्सार महसुल फरक बनाउने घोषणा गरेको सरकारसँग स्पन्ज आइरनमा कम्तिमा एक तह अर्थात ५ प्रतिशत फरक भन्सार लगाउन माग संघले गरेको छ ।
यदी सरकारले स्पन्ज आइरनमा एक तह फरक भन्सार लगाएन भने सबै उद्योग बन्द हुने समेत चेतावनी दिएको हो । उद्योगीहरुले ताला चाबी सरकारलाई बुझाउन तयार बताएका हुन् ।