काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले निजी क्षेत्रमा कर्जा धेरै गएको र त्यसको दुरुपयोग भएको भन्ने भाष्य सही नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज यहाँ आयोजना गरेको पूर्व–बजेट छलफलका क्रममा अध्यक्ष अग्रवालले सो कुरा बताएका हुन् ।
‘हामी कुनकुन नीतिका कारण यो अवस्थामा आएका हौं भन्ने समीक्षा गरिनुपर्छ । निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गरिनुपर्छ । निजी क्षेत्रमा कर्जा धेरै गएको र त्यसको दुरुपयोग भएको भन्ने भाष्य सही होइन । हाम्रा सङ्कुचित नीतिका कारण पुँजी निर्माण घटिरहेको छ’, अग्रवालले भने ।
अहिले समग्र मागमा सङ्कुचन आएका कारण निजी क्षेत्र लगानी बढाउनेभन्दा पनि भएको लगानी कसरी बचाउने भन्नेतर्फ केन्द्रित हुन थालेका बताए ।
बजेट ठूलो आकारमा ल्याउन स्रोतमा दबाब पर्छ र स्रोतको दबाब थेग्न निजी क्षेत्रमाथि करको भार थप्न नहुने उनले बताए । पूर्वाधारमा लगानी केन्द्रित गरेर बजेट आउनुपर्ने आवश्यकता अग्रवालले औंल्याए ।
आयातित वस्तुको गुणस्तर र लेबलिङ आवश्यक रहेको, मूल्य अभिवृद्धिकर (भ्याट) बहुदरमा जानुपर्ने, कच्चा पदार्थ र उत्पादित वस्तुमा दुई तहको भन्सार कर लगाउनुपर्नेलगायत सुझाव उनले दिए ।