लगानी सम्मेलन:‘हात्ती आयो हात्ती आयो फुस्सा’, आवश्यक क्षेत्रमा भित्रिएन लगानी

काठमाडौं । निकै तामझाम र चर्चाका साथ सुरु गरिएको तेस्रो लगानी सम्मेलनले अपेक्षा गरे अनुसार प्रभावकारी नभएको देखिएको छ । सिधै भन्दा भद्रगोल जस्तो देखिएको यो सम्मेलनमा लगानी त आएन नै विदेशबाट लगानी गर्नका लागि आमन्त्रण गरेका पहुँनाको मानसम्मान गर्न समेत लगानी बोर्ड चुक्यो ।

लगानी सम्मेलनको व्यवस्थापनमा देखिएको भद्रगोलका कारण कतिपय विदेशी डेलिगेष्ट समेत सम्मेलन हलको ढोकामा पुगेर फर्कनु पर्ने अवस्था आयो । जुन अत्यन्तै तितो सत्य पनि हो ?

सम्मेलनमा भेटिएका अधिकांश मानिसहरू घुमफिर र बाहिरी भेटघाट ५ तारे होटलको लक्जरियस मज्जामा नै थिए । हामी त्यो ठाउँमा किन जमघट भएका हौं त्यसको हेक्का बिरलै थियो ।

व्यवस्थापनको रुपमा रहेको नेपाल लगानी बोर्ड यो प्रयास समग्रमा भन्दा फेल त नभनौ तर उचित व्यवस्थापन हुन भने पक्कै नसकेको हो । यो कुरा बोर्डले पनि स्वीकार गर्नु पर्छ नै । हल्लाको भरमा कुद्ने नेपालीको अभ्यासलाई लगानी सम्मेलनले अझ स्थापित गरिदिएको छ ।

नेपालको पूर्वाधार निर्माणमा ठूलो लगानी भित्र्याउने अपेक्षा सहित लगानी सम्मेलन आयोजना गरिए पनि जलविद्युत तथा अन्य पूर्वाधारको क्षेत्रमा लगानी नै आएन । अझ भनौ क्वालिटीका लगानीकर्ता सम्मेलनमा आएनन् ।

लगानी बोर्डका अनुसार आठ सय भन्दा बढी विदेशी प्रतिनिधि सहभागी भएको उक्त सम्मेलनमा दुई हजार पाँच सय भन्दा बढीको सहभागिता भएको हो । सम्मेलनका क्रममा आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डिङ (लगानीकर्ताको प्रतिक्रिया संकलन) ९ परियोजनासहित कुल ९ खर्बको १५४ परियोजना प्रस्तुत भयो। आशयपत्र पेश गर्न लगानीकर्तालाई ऊर्जा परियोजनाको हकमा ४५ दिन र गैर–ऊर्जा परियोजनाको हकमा ३५ दिनको समय प्रदान गरिएको छ ।

सम्मेलन अवधिभर कुल १२ वटा सेसनमा छलफलहरू भए । जसमा विकासे र महत्त्वपूर्ण मन्त्रालय सम्हालेका मन्त्रीहरूले सेसनको अध्यक्षता गरेपनि । उनीहरूले नेपाल लगानीका लागि भर्जिन ल्याण्ड रहेको र अहिले त्यो वातावरण समेत बनेको भन्दै निसंकोच लगानी गर्न आह्वान पनि गरे । तर, तयारी नपुगेका कारण आयशपत्र तयार भएका तथा पीपीए भइसकेका आयोजनाको समेत सम्झौता हुन सकेन ।

ठूलो वैदेशिक लगानीको अपेक्षा गरेर स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ईपानले लगानीका लागि ५० ओटा आयोजना प्रस्ताव गरेको थियो । सम्मेलनको अन्तिम चरणसम्म एउटा आयोजनालाई मात्रै भएपनि लगानी जुटाउने प्रयन्त गरिएपनि त्यो साकार हुन सकेन ।

ईपानले तयार पारेका आयोजनामध्ये १५ वटा जति आयोजनाको पीपीए भइसकेको थियो भने अन्यको तयारीमा थिए । ईपानले प्रस्तुत गरेको परियोजनामा यदि लगानीकर्तालाई लगानी गर्न इच्छा लागेमा ४५ दिनभित्र उनीहरूले सम्पर्क गर्ने भएका छन् ।

आर्थिक शिथिलताको यो अवस्थामा गरिएको लगानी सम्मेलनले देशको अर्थतन्त्रलाई चलायमान बनाउन अर्थात लगानीकर्ताको मनोबल बढाउन ढाडस मिल्ने देखिए पनि यथार्थमा भन्दा लगानी सम्मेलन हात्ती आयो आयो फुस्सा जस्तै बनेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स