९ महिनामा वीरगंज भन्सार कार्यालयले गर्यो ४ खर्बभन्दा बढीको आयात, कुन भन्सारबाट भयो कति आयात निर्यात ?

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा विभिन्न भन्सार कार्यालयबाट ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । सो अवधिमा १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँको निर्यात भएको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

चालु आवको (साउनदेखि चैत अन्त्यसम्म) १० ओटा भन्सार कार्यालयबाट मात्रै ११ खर्ब ३२ अर्ब ५१ करोड १८ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ भने समीक्षा अवधिमा १ खर्ब ७ अर्ब ४३ करोड रुपैयाँको निर्यात भएको देखिन्छ ।
साउनदेखि चैत अन्त्यसम्म बीरगञ्ज भन्सार कार्यलयबाट सबै भन्दा बढी आयात भएको छ । सो कार्यालयबाट ४ खर्ब २ अर्ब १० करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । सो अवधिमा २२ अर्ब ६३ करोड रुपैयाँको निर्यात भएको देखिन्छ ।

त्यसैगरी दोस्रो नम्बरमा बढी वस्तु तथा सेवा आयात गर्ने भैरहवा भन्सार कार्यालय बनेको छ । कार्यालयबाट १ खर्ब ७७ अर्ब ६५ करोड रुपैयाँको आयात भएको छ भने १० अर्ब २२ करोड ८० लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट १ खर्ब दुई अर्ब ६२ करोड रुपैयाँको आयात भएको छ भने विमान स्थलबाट २५ अर्ब ६० करोड ८० लाख रुपैयाँको निर्यात भएको सार्वजनिक गरिएको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी बीरगञ्ज ड्राइपोर्ट भन्सार कार्यालयबाट १ खर्ब ५६ अर्ब १६ करोड, विराटनगर भन्सार कार्यालयबाट १ खर्ब २६ अर्ब ६७ करोड, नेपालगञ्ज भन्सार कार्यलयबाट ५३ अर्ब ८ करोड, रसुवाबाट ३८ अर्ब ४७ करोड, तातोपानी भन्सार कार्यालयबाट २६ अर्ब ६३ करोड, मेची भन्सार कार्यालयबाट ३२ अर्ब २० करोड र कैलालीबाट १६ अर्ब ८९ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको सार्वजनिक तथ्यांकमा छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स