खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई नाफामा लगेर बाहिरिए मोहन चन्द, रैथाने उत्पादनमा उनको जोड

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्द कार्यावधि नसकिदै बाहिरिएका छन् । उनी उमेर हदका कारणले गत मंगलबार बाहिरिएका हुन् । यद्यपि उनले कम्पनीलाई नाफामा भने लगेरका छन् । कम्पनीले गत आवमात्रै १२ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा २ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आवका गरेको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ५ गुणाले बढी हो ।

कम्पनीले गत आवमा १ अर्ब ५९ लाख ६६ हजार रुपैयाँको व्यापार गरेर सो नाफा कमाएको कम्पनीको सूचना अधिकारी सर्मिला न्यौपानेले जानकारी दिइन । ‘गत आर्थिक वर्षको लेखा परीक्षण अन्तिम चरणमा पुगेको छ’, उनले भनिन् ‘हामीले राम्रो आम्दानी गरेका छौं । अघिल्लो आर्थिक वर्षमा पनि कम्पनीले १ अर्ब १६ करोड रुपैयाँको व्यापार गरेका थियौं ।’

देशको विकट र दुर्गम जिल्ला खाद्यान्न पुर्याउने जिम्मेवारी पाएको कम्पनीले देशका विभिन्न स्थानमा रहेका २५ वटा डिपोबाट विभिन्न स्थानमा खाद्यान्न पुर्याउने गरेको छ । सरकारी स्वामित्वको उक्त कम्पनीले देशभर १३३ स्थानबाट ग्राहकलाई सर्वसुलभ र सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउँदै आएको छ ।
१ अर्ब १५ करोड ९८ लाख ३० हजार चुक्ता पुँजी रहेको उक्त कम्पनीमा अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयको सेयर रहेको छ । कम्पनीको अधिकृत पुँजी ७ अर्ब र जारी पुँजी ५ अर्ब रुपैयाँ रहेको छ ।

कम्पनीमा वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालय १ करोड ६ लाख ८३ हजार ८३९ कित्ता अर्थात ९२.१२%, अर्थ मन्त्रालय ६ लाख ७२ हजा र४६१ कित्ता अर्थात ५.८०%, उद्योग, गृहको १ लाख ७१ हजार कित्ता १.४७ % र कृषि तथा पशुपंक्षी मन्त्रालय ७१ हजार कित्ता अर्थात ०.६१% रहेको कम्पनीको देशभर १ लाख ५९ हजार क्विन्टल क्षमताको भण्डार गृह(गोदाम) रहेको छ । उक्त गोदामबाट नै खाद्यले दुर्गम तथा हिमाली जिल्लामा चामल, गहुँलगायतका खाद्यान्न पठाउने हो ।
पछिल्लो वर्षमा कम्पनीले रैथाने बालीको बजारीकरण गर्दै आएको छ । गाउँ गाउँको उत्पादनलाई देशभर सञ्चालित बिक्री केन्द्रबाट कम्पनीले बिक्री गर्दै आएको हो ।

कम्पनीले देशभर रहेका १३३ बिक्री केन्द्रबाट दुर्गम जिल्लाका आम नागरिकलाई खाद्यान्न पुर्याउँदै आएको छ । सातै प्रदेशमा प्रादेशिक कार्यालय तथा ५ ओटा प्रमुख शाखा कार्यालयसहित २५ शाखा कार्यालय र २५ स्थायी डिपोबाट खाद्यान वितरण गदै आएको छ ।

२०३१ साल मंसिर १७ गते स्थापना भएको नेपाल खाद्य संस्थान र नेशनल ट्रेडिङ गाभिएर खाद्य तथा व्यापार कम्पनी बनेको हो । २०२१ सालमा खाद्य व्यवस्था संस्थान र २०२९ सालमा कृषि खरीद बिक्री संस्थानमार्फत खाद्यान्न आपूर्ति हुने गरेको थियो ।

नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७६ जेठ १० को निर्णयअनुसार मिति २०७६ साउन २८ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई औपचारिक रुपमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड स्थापना भएको छ ।

किसानको हितलाई ध्यानमा राखेर खाद्यान्न खरिद गरी खाद्यान्न कमी भएका दुर्गम जिल्लामा खाद्यान्न ढुवानी गरी सुपथ मूल्यमा बिक्री वितरण गर्ने, खाद्यान्न तथा दैनिक उपभोग्य खाद्य वस्तुहरूको अतिरिक्त संस्थानलाई आत्मनिर्भर बनाउन अन्य काम गर्ने उद्देश्यका साथ यो कम्पनी स्थापना भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स