पश्मिना उद्योगको प्रवर्द्धनमा सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योगको उत्पादन र निर्यात प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । पश्मिना फाइबर प्रशोधनसम्बन्धी तालिमका सहभागीलाई आज ललितपुरमा प्रमाणपत्र वितरण गर्दै उनले पश्मिना उद्योगका क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताए ।

नेपालबाट निर्यात हुने महत्वपूर्ण उत्पादनमध्ये च्याङ्ग्राको भुवा बाट बन्ने पश्मिना पनि रहेकाले यस क्षेत्रका लागि आवश्यक पूर्वाधार निर्माण र अन्य क्षमता विकासका कार्यमा सहयोग गर्न सरकार तयार रहेको मन्त्री भण्डारीले उल्लेख गरे। उनले फाइबर प्रशोधन केन्द्रको निरीक्षण गरी पश्मिना फाइबर प्रशोधनको प्रक्रियाबारे जानकारी लिएका थिए ।

पश्मिना व्यवसायी र च्याङ्ग्रा किसानको संयुक्त लगानीमा ललितपुरको हरिसिद्धिमा निर्माण भएको पश्मिना प्रशोधन केन्द्रले किसानबाट च्याङ्ग्राका भुवा संकलन र प्रशोधन गरी पश्मिना उद्योगलाई आपूर्ति गर्दै आएको छ । पश्मिना फाइबर प्रशोधन सम्बन्धी सीप सिकाउने उद्देश्यले ललितपुर तथा काठमाडौंका स्थानीय महिलालाई उत्पादन तालिम दिएको हो ।

सत्र दिनसम्म सञ्चालन भएको तालिममा २० जना सहभागी थिए । उक्त अवसरमा नेपाल पश्मिना उद्योग संघका अध्यक्ष विजय दुगडले पश्मिना फाइबर प्रशोधन केन्द्रको स्थापनाबाट पश्मिना व्यवसायीले लाभ उठाइरहेको जनाउँदै सरकारले पश्मिना उत्पादन वृद्धि गर्न पूर्वाधार निर्माण र निर्यात अभिवृद्धिमा सहयोग गर्न आग्रह गरे । संघका उपाध्यक्ष धनप्रसाद लामिछानेले पश्मिना क्षेत्रमा देखिएका समस्याबारे चर्चा गरेका थिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स