धनतेरसमा दैनिक २ हजार किलो चाँदी बिक्री हुने

काठमाडौं । यस वर्षको तिहारमा चाँदीको व्यापार अन्य वर्षहरूमाभन्दा धेरै हुने अनुमान सुनचाँदी व्यापारीहरूले गरेका छन् । चालु आर्थिक वर्षदेखिनै चाँदीको व्यापार बढेकाले व्यापारीहरूले दिपावलीको समयमा चाँदीको व्यापार अझ बढ्ने अनुमान उनीहरूले गरेका हुन् ।

अघिल्ला वर्षहरूमा धनतेरसको दिन ७–८ सय किलोसम्म चाँदी बिक्री हुने गरेकोमा यस वर्ष बजार बढेकाले २ टनसम्म बिक्री हुने अनुमान सम्बन्ध व्यापारीले गरेका हुन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ सदस्य तेजरत्न शाक्यले अहिले सुन र चाँदी दुबैको बजार राम्रो भएकोले यो तिहारमा २ टनभन्दा बढी चाँदीको व्यापार हुने अनुमान आफूले गरेको बताए ।

धनतेरसको दिन चाँदी किन्दा फलिफाप हुने अर्थात घरमा लक्ष्मीले बास गर्ने मान्यता हुँदा कागतिहारको दिन चाँदी खरिद गर्नेको खुइँचो लाग्ने उनले बताए । ‘अहिले सामान्य समयमानै दैनिक १ टन चाँदीको व्यापार हुने गरेको छ,’ उनले भने ‘ तिहार तीनदिन अर्थात धनतेरसको दिन सामान्य समयको भन्दा बढी नै चाँदीको बिक्री हुन्छ ।’ सो अनुमानमा यस वर्ष दैनिक २ टन चाँदी बिक्री हुने अनुमान हाम्रो हो ।’

‘तिहारमा खरिद गरेको सुनचाँदी र अन्य धातुका सामान टिकाउ हुनुका साथै थप सम्पत्ति आर्जन भइ घरमा लक्ष्मीले बास गर्ने र समृद्धि प्राप्त हुने विश्वास गर्ने रिद्धिसिद्धि ज्वलेर्सका प्रवन्ध निर्देशक नरेन्द्रकुमार गुप्ताले बताए ।

‘धनतेरसमा रिद्धिसिद्धि आउने ग्राहकलाई मनैदेखि सुख र समृद्धिको कामना गर्दै उपहारसहित खुसी बनाएर पठाउने गरेका छौं ।’ उपभोक्ता समृद्ध भएमात्र व्यवसाय चल्ने हो, उनले थपे ,‘वर्षभरि आफ्ना लागि व्यापार गरे पनि धनतेरसका दिन उपभोक्ताको समृद्धिको कामना गर्दै विशेष छुटका साथ गरगहना बिक्री गर्छौं।’

सुनकै दाममा हीरा पाउन थालेपछि चाँदीको सट्टा धनतेरसको हीरा किन्ने ग्राहक बढ्दै गएको उनले सुनाए । आगामी बुधबार कागतिहार परेको छ । सो दिन सुनचाँदी पसलमा सुन तथा चाँदीका सामान किन्नेको घुइँचो लाग्ने गर्दछ ।

पछिल्लो समय नेपालमा चाँदीको माग बढ्र्दै गएको छ । सो कारणले पछिल्लो तीन महिनामा चाँदीको आयात पनि इतिहासै बढी भएको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिना साउनदेखि असोजसम्ममात्रै ११ अर्ब ९९ करोड १४ लाख रुपैयाँ बराबरको १२ करोड ६३ लाख ग्राम चाँदी आयात भएको छ ।

गत आर्थिक वर्षको सो अवधिमा ४९ करोड ४७ लाख मूल्य बराबरको ३० लाख ग्राम चाँदी आयात भएको भन्सार विभागका सूचना अधिकारी पुण्य बिक्रम खड्काले जानकारी दिए । यस वर्ष चाँदीको आयात अत्यधिक बढेकाले सरकारले भन्सार महसुल बढाएको छ ।

सरकारले प्रति १० ग्राम चाँदीमा २० रुपैयाँले बढाएको हो । यसअघि सो परिमाणमा ८७ रुपैयाँ भन्सार महसुल लाग्दै आएको थियो । महसुल बढेपछि प्रति १० ग्राम चाँदी खरिद गर्नका लागि १०७ रुपैयाँ भन्सार महसुल तिर्नुपर्ने भएको छ । अहिले बजारमा प्रतितोला चाँदी १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स