गुलाव मिठाई सुन्धारालाई २ लाख रुपैयाँ जरिवाना: मिठाइ बनाउन म्याद सकिएका रंगको प्रयोग

काठमाडौं । गुलाब मिठाई सुन्धारालाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । सालिमार हस्पिटालिटी एण्ड फुड प्रालिका नाममा दर्ता भएर सहरका विभिन्न ठाउँमा गुलाब ब्राण्डका मिठाई उत्पादन तथा बिक्री हुँदै आएको छ ।

आज (शुक्रबार) काठमाडौं महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको गरेको अनुगमनका क्रममा पसलको भान्छामा म्याद सकिएका रंग, अन्य कम्पनीले उत्पादन गरेका खाद्यबस्तुमा आफ्नो लेवल र आफूले उत्पादन गरेका खाद्यबस्तुमा भारतीय कम्पनीको लेवल राखेको, उत्पादन मिति उल्लेख नभएका पेय बिक्री गरेको पाइएको थियो ।

यस अघि अनुगमन टोलीले नयाँ सडकमा रहेको पसलको पनि निरीक्षण गरेको थियो । त्यस क्रममा उत्पादन मिति उल्लेख नभएका चिउराका बोराहरु फेला पारेको थियो । अनुचित व्यापारिक क्रियाकलाप भएकोले जरिवाना तिराउनु परेको हो । निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले जानकारी दिँदै भने, यसअघि दिइएका निर्देशनको पालना गर्ने वा त्यसका लागि तत्परता नदेखिएपछि जरिवाना तिराएका हौँ ।

यस अघि ०७६ कार्तिक ८ गते महानगरले यही ठाउँमा गएर गलत भएका ठाउँहरु देखाउँदै सुधार गर्न भनेको थियो । त्यसबेला तिहारका लागि मिठाइ प्याकिङ् गरेर दिइने बक्सहरु भुँइमा राखेर पट्याउने काम भइरहेको थियो । यसरी बक्स बनाउन खटिएका कर्मचारीहरु भुँइमा पलेँटी कसेर बसेका थिए । उनीहरुका अगाडि बक्स र कागजको थुप्रो थियो ।

उनीहरुले जुत्ता लगाएका थिए तर हातमा पञ्जा, सरीरमा एप्रोन तथा टाउको छोप्ने कुनै सामान प्रयोग गरेका थिएनन् । गुलाबको पहिलो तलामा मिठाइ बनाउने काम गरिरहेका कामदारहरु खाली हातले लड्डु बनाइरहेका थिए । छेउमा ठूला ठूला भाँडामा लालमोहन र रसबरी राखिएको थियो । तेश्रो तला राखिएका सामानहरु हेर्दा दुगड कम्पनीबाट उत्पादन भएका १ किलोग्रामका १० वटा म्याद गुज्रेका बेसनका प्योृयाकेट भेटिएका थिए ।

अर्को तलामा भण्डारको छेउ अँध्यारो कुनामा आधा बोरामा कीरा परेको २६ किलो बेसन थियो । यसरी भेटिएका सामान नष्ट गर्दै अनुगमन टोलीले सुधार गर्नु भनेको थियो ।

गुलाबमा भेटिएका सामाग्री खाद्य सुरक्षाका कोणबाट गम्भीर असर पुर्याउन सक्ने खालका हुन् । अनुगमनमा रहनुभएका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक कौशल ओझा भन्नुहुन्छ । जुन मिठाई पसलमा गयो त्यहीँ समस्या छ ।

यस्ता कारवाहीलाई सांकेतिक मान्नुपर्छ । समय दिँदा पनि सुधार नगर्नेलाई हदैसम्मको कानुनी दायरामा नल्याई उपभोक्ताहरु ठगिने क्रम रोकिँदैन । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना भन्नुहुन्छ, मिठाइ पसलको भान्छा सरसफाइ गर्न गएजस्तो भएको छ ।

एक दुईवाहेक अरुको मिठाई उत्पादनको चक्रमा कतै न कतै समस्या भेटिइहाल्छ । अहिले मापदण्ड कार्यान्वयनका लागि व्यवसायी र नियमनका लागि सरकारको तत्परता चाहिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स