काठमाडौं । नेपालमा लामो समयदेखि कम्पनीका दुई पांग्रे बिक्री गर्दै आएको ज्योति ग्रुपबाट अधिकृत बिक्रेता खोसिएको छ। ज्योति ग्रुप हिरो मोटरसाइकल ब्रान्ड आधिकारिक बिक्रेतामा चौधरी ग्रुरुपले आफ्नो हातमा लिएको छ ।
हिरो मोटोकर्प र सीजी मोटर्स दुवैले नेपालमा एसेम्बलिङ उत्पादनका लागि पूर्वाधार समेत बनाउने भएका छन्। हिरो मोटरसाइकल र स्कुटरको निर्माता भारतीय कम्पनी हिरो मोटोकर्पले नेपालका चौधरी ग्रुप अन्तर्गतको सीजी मोटोकर्पलाई आधिकारिक डिष्ट्रिब्युटर्स नियुक्त गरिएको जानकारी गराएको हो ।
हिरो मोटोकर्प र सीजी मोटर्स दुवैले नवलपुर जिल्लामा एसेम्बलिङ उद्योग खोल्ने बताएका छन्। वार्षिक ७५ हजार युनिट दुई पांग्रे उत्पादन गर्न सक्ने क्षमता हुनेछ। आगामी मार्चबाटै त्यसमा कार्य सञ्चालन सुरु हुने विज्ञप्तिमा उल्लेख छ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘विश्वव्यापी रुपमै स्थापित हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक वितरकको मान्यता पाएको सुनाउँन पाउँदा हामी अत्यधिक खुसी भएका छौं । यो सहकार्यले बजार विस्तार तथा हिरोका नयाँ उत्पादनहरुको प्रवर्द्धनमा ठूलो महत्व राख्नेछ । हिरो मोटोकर्पको अटोमोबाइल बजारमा पुनः प्रवेश र हिरोसँगको सहकार्यले बजार हिस्सा बढाउने नै छ । हामीसँग स्थानीय बजारको राम्रो ज्ञान छ, हामी निकट भविष्यमै हिरोको एसेम्बल प्लान्ट पनि स्थापना गर्नेछौं ।
हिरोले नेपालमा इन्ट्री लेभलदेखि प्रिमियम सेगमेन्टका मोटरसाइकल तथा स्कुटरहरु उपलब्ध गराउँदै आएको छ । हिरोले एक्सप्लस २००, एक्सप्लस २०० टी, एक्सट्रिम १६० आर, एक्सट्रिम २००आर, सुपर स्प्लेण्डर, ग्ल्यामर लगायतका मोटरसाइकल बेचिरहेको छ । त्यस बाहेक डेस्टिनी १२५, मएस्ट्रो एड्ज र प्लेजर स्कुटर बेचिरहेको छ । हिरोले तत्कालै भिडा भीआई इलेक्ट्रिक स्कुटर पनि ल्याउने तयारी गरिरहेको छ ।