काठमाडौं । पवन गोल्यान अध्यक्ष रहेको रिलायन्स स्पिनिङ मिल्सले माघ १० गतेदेखि बुक बिल्डिङ प्रक्रियामार्फत सेयर निष्काशन गर्दैछ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक बिल्डिङ प्रक्रिया मार्फत सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले माघ १० गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरूका लागि सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता सेयर बुक बिल्डिङ प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको थियो। सोमध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयर बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ तोकिएको छ ।
कम्पनीले नेप्सेले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरु सहभागि गराई बिक्री मूल्यको सीमा भित्र रहि बोलकबोल मार्फत सेयर बिक्री गर्न लागेको हो । कम्पनीको सेयरमा माघ १४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । सेयर निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ । कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.८८ वर्ष रहेको छ भने डिस्काउण्डमा लगानी फिर्ता हुने अवधि १०.७४ वर्ष रहेको छ ।
रिलायन्स स्पिनिङ मिल नेपालको धागो उत्पादन गर्ने उद्योगहरूमध्ये रोजगारदाता उद्योगको रुपमा पनि सबैभन्दा ठूलो उद्योगको रुपमा रहेको छ । कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरु भारत, टर्की, भियतनाम, यूके लगायतका विभिन्न मुलुकहरुमा निर्यात गर्दै आएको छ।
यस कम्पनीका अध्यक्ष पवन कुमार गोल्याण हुन् भने प्रबन्ध सञ्चालक अक्षय गोल्याण हुन् । कम्पनीको मुल उद्योग ‘ए’ ईटहरी नगरपालिका वडा नं. १२ खनार, सुनसरीमा रहेको छ भने शाखा उद्योग ‘बि’ ईटहरी नगरपालिका वडा नं. ४ दुहाबी, सुनसरीमा रहेको छ । उक्त स्पिनिङ मिल्समा ४ हजार ४ सय जनाले रोजगारी पाएका छन् ।