काठमाडौं । घोराही सिमेन्टको वार्षिक साधारणसभाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । दाङको घोराहीमा शनिबार सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/०८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
जसमा चुक्ता पुँजी ३ अर्ब ९७ करोड १९ लाखको १४.२५ प्रतिशतका दरले ५६ करोड ५९ लाख रुपैयाँ बराबरको बोनस सेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) २ करोड ९७ लाख रुपैयाँ नगद लाभांश रहेको छ ।
सभामा घोराही सिमेन्टले प्रतिकूलताका बाबजुद आर्थिक वर्ष २०७९/०८० मा ६ करोड ३१ लाख मुनाफा आर्जन गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को मंसिर महिनासम्म १ अर्ब ४२ करोड २५ लाख बराबरको सिमेन्ट बिक्री गर्न सफल भएको अध्यक्ष पुरुर्षोत्तम लाल संघईले जानकारी दिए ।
हाल कम्पनीको अधिकृत पुँजी ६ अर्ब ८० करोड र जारी तथा चुक्ता पुँजी ३ अर्ब ९७ करोड १९ लाख रुपैयाँ रहेकोमा १४.२५ प्रतिशतका दरले बोनस सेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पुँजीमा वृद्धि भई ४ अर्ब ५३ करोड रुपैयाँ कायम हुनेछ ।
कम्पनीको सञ्चालक समितिका सदस्य गोविन्दलाल संघई र हर्षवर्द्धन संघईले कार्य अवधि बाँकी हुँदै व्यक्तिगत कारणले २०८० कात्तिक २ गते राजीनामा दिएकाले सोही मितिमा रिक्त रहेको सञ्चालक पदमा अन्जु संघई र विवेक अग्रवाललाई नियुक्त गरिएको अध्यक्ष संघईले जानकारी दिए । योसँगै कम्पनीको संस्थापक समूहमा ५ जना सञ्चालक बनेका छन् ।