गण्डकी प्रदेशका विकास तथा पर्यटन पर्वाधारको पूर्णता र शीघ्र सञ्चालनका लागि अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गण्डकी प्रदेशका विकास तथा पर्यटन पूर्वाधारको पूर्णता तथा शीघ्र सञ्चालनका लागि आग्रह गरे । आज बागलुङ महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालन तथा काली गण्डकी कोरिडोर र मध्य पहाडी लोक मार्गको विकासले समग्र गण्डकी प्रदेश तथा बागलुङ जिल्लाको समृद्धिमा ठुलो टेवा पुग्ने बताए ।

गण्डकी प्रदेश भौतिक रूपमा दुई ठूला छिमेकी भारत र चीनसँग जोडिएको तथा पोखरा, मनाङ, मुस्ताङ, काल गण्डकी र हिमाल देखि लिएर बागलुङको ढोरपाटनजस्ता कैयौँ अद्वितीय पर्यटकीय क्षेत्रहरू समेटिएकाले यसबाट फाइदा लिन थप प्रयत्न गर्नु पर्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे । दक्षिणी छिमेकीको करिब एक अर्ब मानिसको आस्थाको केन्द्र मुक्तिनाथ मुस्ताङ प्रवेश गर्ने गेट वे पनि बागलुङ भएकाले यसको थप प्रवर्द्धन गर्नु पर्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

भारत र चीन जस्ता निकट छिमेकीको जनसंख्या पौने ३ अर्ब छ । नजिकैको ठूलो पर्यटन बजार हुनु ठूलो अवसर हो । त्यसैले यस क्षेत्रमा पर्यटन पूर्वाधारको निर्माणले हवाई र स्थल मार्गबाट थप पर्यटक भित्र्याउन सकिने यथार्थलाई मनन गरेर प्रदेश सरकारले ध्यान पुर्याउनु पर्ने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

कोरोला नाकाको स्तरोन्नति र अधिकतम प्रयोग एवं पूर्ण सञ्चालनका लागि बागलुङ जिल्ला र गण्डकी प्रदेशका व्यवसायीहरूले पहल लिनु पर्ने समय आएको पनि अध्यक्ष ढकालले उल्लेख गर्नु भयो । बेइजिङको समृद्धि भित्र्याउने र स्थानीय उत्पादन चीन तर्फ निर्यात गर्न कोरोला नाका प्रभावकारी हुने भएकाले संघीय सरकार सँगसँगै प्रदेश सरकारले पनि अग्रसरता लिनुपर्ने अध्यक्ष ढकालको भनाइ थियो ।

बागलुङको पर्यटकीय सम्भावनाको चर्चा गर्दै अध्यक्ष ढकालले पोखरा आएका कम्तीमा पनि आधा पर्यटक पर्वत, बागलुङ बास बस्दै मुस्ताङ पु¥याउन सकिने योजना बनाएर काम गर्ने गरी जुट्न पनि अध्यक्ष ढकालले स्थानीय व्यवसायीहरुलाइ आग्रह गर्नु भयो ।

पर्यटन प्रवद्र्धनबाट नै स्थानीय उत्पादन र उद्यमशीलताको पनि विस्तार र विकास गर्न सकिन्छ भन्ने तथ्य बुझेर आवश्यक पर्यटन पूर्वाधारको निर्माण गरी छिमेकको विशाल पर्यटन बजारलाई आकर्षित गर्नु पर्ने पनि अध्यक्ष ढकालले बताए ।

सो अवसरमा अध्यक्ष ढकालले बागलुङ महोत्सवमा समुद्घाटनमा सरिक हुनु भएकोमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाइ नेपालका समग्र उद्योगी, व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र यस महोत्सवको मुख्य आयोजक जिल्ला उद्योग वाणिज्य संघ, बागलुङका तर्फबाट धन्यवाद समेत व्यक्त गरे ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स