काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आइतबारदेखि ट्रंक र डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको बत्ती काट्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतको बक्यौता नतिर्ने ठूला उद्योगको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्न निर्देशन दिएका पछि नेपाल विद्युत प्राधिकरण एक्सनमा उत्रिन लागेको हो ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले ठूला उद्योगबाट सुरु गरेर सबै बक्यौता उठाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले बक्यौता नतिर्नेलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए । ऊर्जा मन्त्रालयको उच्च स्रोतका अनुसार बक्यौता नतिर्ने जो कोहीको पनि लाइन काट्न प्रधानमन्त्रीले निर्देशन दिएका छन्। केही समय पहिले व्यवसायीसँगको भेटमा भने उनले लाइन नकाट्ने प्रतिबद्धता जनाएका थिए।
ट्रंक र डेडिकेटेड लाइनको बक्यौता भुक्तानीमा व्यवसायी र प्राधिकरणको बीचमा विवाद चल्दै आएको छ । २०७२ सालबाट उद्योगीहरूले ट्रंक र डेडिकेटेड लाइनको सुविधा लिन थालेका थिए।
मुलुकमा २०७५ सालमा लोडसेडिङ हट्यो। २०७७ जेठमा नयाँ ट्रयारिफ लागू भएर ट्रंक र डेडिकेटेडसम्बन्धी व्यवस्था खारेज भयो। लोडसेडिङ हटे पनि ट्रंक र डेडिकेटेड सुविधा लिएका उद्योगहरूले प्राधिकरणलाई महसुल तिर्न मानेका छैनन्।
सोे बक्यौता २५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । २० अर्ब रुपैयाँ साँवा नै पुगेको छ भने त्यसको ब्याज र हर्जाना ५ अर्ब रुपैयाँभन्दा माथि छ। ५८ वटा उद्योगले बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।