काठमाडौं । अटोमोइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आगामी अध्यक्षमा तीन जनालाई पछि पार्दै करण चौधरी बन्ने सहमती जुटेको छ । प्रतिस्पर्धामा आकाश गोल्छा, प्रकाश कपुरी र करण चौधरी रहेकोमा चौधारीलाई सर्वसम्मत गर्ने निर्णय गरेको नाडाका अध्यक्ष धु्रव कुमार थापाले बताए । चौधरी सीजी मोटोकर्प तथा सीजी होल्डिङ्ग्सका कार्यकारी निर्देशक हुन् ।
तीन दावेदार मध्ये चौधरीलाई आगामी कार्यकालको लागि नाडाको अध्यक्ष बनाउने सहमती जुटेको हो । ‘मंगलबार साँझ बसेको पूर्व अध्यक्षहरुरू सहितको बैठकले चौधरीलाई अध्यक्ष बनाउने सहमति जुटेको हो, अध्यक्ष थापाले भने । साथै चौधरीपछि अर्को पटक अध्यक्षमा व्यवसायी आकाश गोल्छालाई सहयोग गर्नेगरी सहमति जुटेको समेत थापाले जानकारी दिए ।
अध्यक्षका अर्का आकांक्षी प्रकाश कपुरीलाई समेत कार्यसमितिमा नै समेट्नेगरी सहमति जुटेको हो । नाडाको अन्य पदाधिकारीमा समेत सहमति गराउने प्रयास भैरहेको नाडाले जनाएको छ ।
नाडाको अधिवेशन पुस २० र २१ गतेलाई तोकेको छ । २१ गते नयाँ कार्यसमिति चयन हुने छ । अटोमोबाइल व्यवसाय संकटमा रहेका बेला चुनावमा जान नहुने भन्दै पूर्व अध्यक्षहरुले सहमतिका लागि पहल गरेका थिए। त्यही पहलका कारण चौधरी र गोल्छाबीच सहमति जुटेको हो।
यो सहमतिपछि गोल्छा वरिष्ठ उपाध्यक्ष हुनेछन्। एशोसिएसनले वरिष्ठ उपाध्यक्ष पद थपेर गोल्छालाई चयन गर्न लागेको हो। नेपाल उद्योग वाणिज्य महासंघकोजस्तै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानसहित विधान संशोधन हुनेछ । एशोसिएसनको उपाध्यक्षमा सिप्रदी ट्रेडिङका राजनबाबु श्रेष्ठ र लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकार श्रेष्ठ बन्ने सहमति भएको छ।