चौथो जिम्मेवार व्यवसाय सम्मेलन

काठमाडौ । यही मङ्सिर २१ गतेदेखि काठमाडौंमा ‘चौथो जिम्मेवार व्यवसाय सम्मेलन’ आयोजना हुने भएको छ ।
नेपालका उद्योग व्यवसायको बदलिँदो परिस्थिति र यस क्षेत्रमा देखिएका उदीयमान नवआयामको परिप्रेक्ष्यमा जिम्मेवार ढङ्गले कसरी अघि बढ्न सकिन्छ भनेर दुईदिने सम्मेलन आयोजना गर्न लागिएको आयोजक राष्ट्रिय व्यावसायिक पहलले जनाएको छ ।
सम्मेलनबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष कुशकुमार जोशीले व्यावसायिक वातावरणको विद्यमान अवस्था, सम्बोधन गर्नुपर्ने विषय र अबको बाटोबारे सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
सम्मेलनमा समाज, अर्थतन्त्र र वातावरण गरी तीन विधाका ११ वटा विषयमा विज्ञका प्रस्तुतिसहित छलफल हुने जनाइएको छ । आधुनिक दासत्व तथा मानव बेचबिखन, व्यावसायिक आचारसंहिता र संस्थागत उत्तरदायित्व व्यावसायिक असरको व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारी र नवीकरणीय ऊर्जासम्बन्धी विषय सम्मेलनमा छलफल हुनेछन् ।
अर्थतन्त्र विधामा व्यावसायिक वातावरण निर्माण, नवप्रवर्तन तथा उद्यमशीलता, डिजिटल अर्थतन्त्र र व्यावसायिक निरन्तरता योजनालगायतका विषयमा सम्मेलन केन्द्रित रहने आयोजकले जनाएको छ ।
विश्वव्यापी महामारीको असर, सञ्चार प्रविधिको द्रुत विकास र प्रभावसँगै विश्वव्यापी चासोका विषयका रुपमा रहेका डिजिटल अर्थतन्त्र, जलवायु परिवर्तन, प्रदूषण तथा मानव अधिकारको संरक्षणलगायत विषयमा छलफल हुने जनाइएको छ ।
कार्यक्रममा नेपालसहित भारत, अष्ट्रेलिया, सिङ्गापुर, जापानलगायत विभिन्न देशका ३० भन्दा बढी वक्ता र तीन सय हाराहारी उद्यमी व्यवसायी सहभागी हुने आयोजकको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स