सरकारले व्यवसायीहरुको उचित माग एक वर्षसम्म पनि सम्बोधन गर्न सकेन :राष्ट्रिय व्यवसायी महासंघ

काठमाडौं । सरकारले साना उद्योगी व्यवसायीहरुको प्राथमिताका काम गर्न नसकेको व्यवसायीहरुले गुनासो गरेका छन् । शुक्रबार तिहार तथा छट पर्वको अवसरमा नेपाल राष्ट्रिय व्यवसायी महासंघले आयोजना गरेको शुभकामनमा तथा चियापान कार्यक्रममा बोल्दै व्यवसायीहरुले यस्तो गुनासो गरेका हुन् ।

उनीहरुले गत वर्ष व्यवसायीहरुले सामान्य माग राखेर सडक आन्दोलन गर्दा समेत सरकारले एक वर्षसम्म माग सम्बोधन नगर्दा व्यवसायबाट पलायन हुने पर्ने अवस्था आएको जिकर गरेका छन् । उनीहरुले बैंकको ब्याजदर स्गिंल डिजिटमा आउनु पर्ने माग अहिलेसम्म सम्बोधन नभएको बताए । व्यवसायीहरुले सरकारले एक हात उद्योगी व्यवसायीहरुको माग मात्रै सम्बोधन गर्ने तर अर्थतन्त्र चलायमान बनाउन योगदान गर्ने व्यवसायीहरुलाई प्राथमिकता नदिएको बताए ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले बैंकको ब्याजदर उच्च हुँदा व्यवसायीहरु मर्कामा परेको बताए । उनले सरकारले बैंकको ब्याजदर कम गर्ने भने पनि एक वर्षसम्म कम गर्न नसक्दा व्यवसायीहरु बैंकको ब्याज र किस्ता तिर्न नसक्दा व्यवसायको सटर बन्द गरेर वैदेशिक रोजगारीमा जान बाध्य भइरहेको बताए । उनले सरकारले व्यवसायीहरुका भन्सारका समस्या र बैंकको ब्याजदर घटाउने काम नगरे व्यवसायीहरु पुनः सटर बन्द गरेर सडक आन्दोलन गर्नु बाध्य हुने बताए ।

उनले भने,‘सरकारले व्यवसायीहरुको माग सम्बोधन गर्न सकेको छैन । बैंकको ब्याजदर सिङ्गल डिजिटमा ल्याउनु पर्ने भए पनि अहिलेसम्म १४ प्रतिशत भन्दा कम हुन सकेको छैन । व्यवसायीहरु बैंकको किस्ता र ब्याज दिन नसकेर व्यवसायीक सटर बन्द गरेर बस्नु पर्ने अवस्था सिर्जना भएको छ । तर पनि सरकारले उचित मागहरु सम्बोधन गर्ने काम नगर्दा व्यवसायीहरु व्यवसाय छाडेर सडक आन्दोलन गर्ने वातावरण सरकारले बनाई रहेको छ ।’ उनले व्यापार व्यवसायमा आएको मन्दिको कारण अर्थतन्त्रमा समस्या परेको भन्दै सरकारले अर्थतन्त्र चलायमान बनाउनको लागि लगानीको वातावरण बनाउन आवश्यक रहेको बताए ।

उनले व्यवसायीहरु व्यवसाय गर्ने वातावरण नभएको अवस्थामा व्यवसायीहरु एक जुट भएर सरकारलाई दबाब दिन आवश्यक रहेको बताए । त्यस्तै,महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले पनि सरकारले पुँजीपति वर्गका व्यवसायीहरुको लागि मात्रै काम गरेको आरोप लगाए । उनले वास्तविक अर्थतन्त्र चलायमान बनाउने व्यवसायीहरुको पक्षमा काम गर्न नसकेको बताए ।

उनले बैंकको ब्याजदर कम गर्न विगत एक वर्षदेखि माग गर्दै आएपनि अहिलेसम्म सरकारले गर्न नसकेको बताए । उनले अर्थतन्त्रमा परेको असर उद्योगी व्यवसायीहरुमा समेत देखिकाले व्यापार व्यवसायबाट बैंकको किस्ता र ब्याज तिर्न नसक्दा आत्माहत्या गर्ने देखि व्यवसायबाट पलायन हुने अवस्था रहेको बताए । सरकारले विमानस्थलबाट दैनिक हजारौं युवाहरु विदेश जाने क्रम रोक्न आवश्यक रहेको बताए । सरकारले व्यवसायी मैत्री वातावरण नबनाएसम्म अर्थतन्त्रमा समस्या आउने उल्लेख गरे । चियापान कार्यक्रममा महासंघका सम्पूर्ण पदाधिकारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स