व्यापार घाटाको ग्राफ उक्लियो, ४ खर्ब ७ अर्बको आयात हुँदा करिब ४१ अर्बको निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष तेस्रो महिना असोजमा ४ खर्बं ७ अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात र ४० अर्ब ८७ करोडको वस्तु निर्यात भएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार असोज मसान्तसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा आयात १.६९ प्रतिशतले आयात बढेको हो। चालु आवको अघिल्लो दुई महिना साउन र भदौमा भने आयात घटेको थियो । गत वर्ष तीन महिनामा ४ खर्ब ९९ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो।

असोजमा नेपालीहरूको महान चाड वडा दशैंका लागि सामानहरू बढी आयात भएको विभागको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्ष साउनमा आयात १.५६ प्रतिशत र भदौसम्म ५.०६ प्रतिशतले आयात घटेको थियो । आयातमा संकुचन आउँदा यसको असरले राजस्व समेत घट्न पुगेको थियो।

यसपालि असोजमा मात्र करिब १ खर्ब ४८ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । आयात केही बढे पनि निर्यात भने २.२६ प्रतिशतले घटेको छ । चालु आवको तीन महिनाका जम्मा ४० अर्ब ८७ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । जसका कारण व्यापार घाटा बढेको छ ।

पहिलो ३ महिनामा २.१५ प्रतिशत व्यापार घाटा बढेको विभागको तथ्यांक छ । चालु आवको पहिलो ३ महिनामा कुल ४ खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । जुन व्यापार गत आवको सोही अवधिको तुलनामा १.३१ प्रतिशतले बढी हो । गत आवको पहिलो ३ महिनामा ४ खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा पनि सबैभन्दा बढी पेट्रोलियम पदार्थ नै आयात भएको छ । यो अवधिमा कुल ५८ अर्ब ६४ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

पेट्रोलियम पदार्थको आयातमा डिजेलको हिस्सा सबैभन्दा धेरै छ । तीन महिनामा २९ अर्ब ९२ करोड रुपैयाँको डिजेल आयात भएको छ १७ अर्ब १० करोड रुपैयाँको पेट्रोल र ११ अर्ब ६२ करोड रुपैयाँको खाना पकाउने एलपी ग्यास आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।

यस्तै तीन महिनामा ९ अर्ब ४३ करोड १९ लाख रुपैयाँको स्मार्टफोन आयात गरिएको छ । यो अवधिमा ६ लाख ४२ हजार ४१५ वटा स्मार्टफोन आयात भएको हो । सुनमात्रै ७ अर्ब ३५ करोड रुपैयाँको आयात भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स