काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाका किसानले आफूले पालेका खसीबोका नारायणगढ बजारमा बिक्री गरेका छन् । इच्छाकामना गाउँपालिका–६ कोयलघारीका निरबहादुर गुरुङले नारायणगढ बजारमा खसीबोका बिक्री गरेको बताए ।
‘दुई दिनसम्म नारायणगढमा खसी बेच्न गएँ । मूल्य नै पाइँदैन,’ उनले भने ‘केजीको पाँच सय रुपैयाँमा पनि बिक्री हुन गाह्रो भयो ।’ उनले गाउँबाट ३३ किलोमिटर दूरीमा रहेको नारायणगढ बजारमा ल्याएर खसीबोका बिक्री गरेका हुन् । कतिपय किसानले घरबाट नै खसीबोका बेच्ने गरेका छन् ।
यसअघि गाउँको सहकारीले घरमै आएर खसीबोका खरिद गर्दथ्यो । यस वर्ष खरिद गरेका छैनन् । त्यसकारण पनि किसानले बजार झरेर खसीबोका बेच्नु परेको इच्छाकामना–६ कोयलघारीकी च्यन्टी मायाँले भनिन् । ‘खोरमा २० बाख्रा छन् । चार वटा २० हजारमा बेचियो,’ ‘अरु खसी बजार लगेर बेच्ने तयारीमा छु ।’
कोयलघारीकै डोपबहादुर गुरुङलाई विगतको वर्षजस्तै यस वर्ष दशैं खर्चको जोहो गर्न समस्या भएन । उनले घरमा पालेका खसीबोकाले दशैं खर्च टर्ने भएको छ । घरमा पालेका १० खसीबोका बिक्री गरेर यसपालिको दशैं खर्चको जोहो गरिसकेको उनले बताए । खसीबोका बिक्रीबाट गुरुङले दशैँमा करिब ९० हजार रुपैयाँ आर्जन गरे । उनले पाँच दिन अगाडि खसीबोका बिक्री गरेका थिए । ‘यहाँबाट धेरैले बजार लगेर पनि बेच्छन् । बजारमा तानातान गर्नुभन्दा घरमै आएका बेला व्यापारीलाई हचुवामा बेचेँ,’ उनले भने । ।
कोयलघारीकी वीरमाया गुरुङ पनि नारायणगढ खसी लगेर बेच्ने तयारीमा हुनुहुन्छ । यसपटक दशैं खर्च जोहो गर्न चार खसी बेच्ने उनले बताए । ‘३० बाख्रा छन् । चार वटा पाठा बेच्न नारायणघाट जाने हो,’ उनले भने ‘छोराछोरीलाई लुगाफाटा ल्याउने नै यी पाठा बेचर हो ।’
प्रत्येक वर्ष खसीबोका बेचर दशैं मनाउने गरेको उनले सुनाए । खानीगाउँ र कुलयघारीमा एक सय आठ घरधुरी छन् । अधिकांशको घरमा कम्तीमा २० बाख्रा छन् । गाईभैँसी कम पाल्दै आएका उनीहरुको मुख्य आम्दानी बाख्रा नै हो । अधिकांशले दशैंमा खसीबोका बेचेर मनाउने गर्दछन् ।
अघिल्लो वर्ष यहाँका किसानले खसीबोका प्रतिकिलो छ सय रुपैयाँसम्म मूल्य पारेका थिए । अहिले उत्पादन बढी र आर्थिक मन्दीका कारण खपत कम हुँदा मासुको मूल्य घटेको इच्छाकामना गाउँपालिकाका पशु शाखा प्रमुख डा. सुनिल ज्ञवाली बताए ।
पहिले बेच्दै आएका कृषक समूह र सहकारीले पनि बेच्नुभएको छैन,’ उनले भने ‘उत्पादन धेरै भएपछि पाँच सय रुपैयाँमा पनि किसानले बेच्ने गरे ।’ अहिले बजारमा काटेर ठिक्क पारेकासीको मासु एक हजार दुई सयमा बिक्री भइरहेको छ । इच्छाकामना गाउँपालिकामा चार हजारको हाराहारीमा बाख्रा रहेको तथ्यांक छ । दशैंमा खसीबोकाको कारोबार भने यकीन नभएको उनले बताए ।