दशैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला, २८ गतेबाट देशभर रुट पर्मिट खुल्ने

 

काठमाडौं । दशैंका लागि आज अर्थात असोज २२ गतेदेखि देशभरको सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला भएको छ । शुक्रबार यातायात मन्त्री प्रकाश ज्वाला देवकोटा र नेपाल यातायात व्यवसायी राष्ट्रिय व्यवसायी महासंघबीच भएको छलफलमा असोज २२ गते सोमबारबाट टिकट बुकिङ खोल्ने सहमति भएको थियो । यातायात व्यवस्था विभागले दशैंलाई लक्षित गर्दै असोज २८ गतेबाट देशभर रुट पर्मिट खुला गर्ने भएको छ ।

यातायात व्यवसायी यस अघि लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि नभएसम्म दशैंको लागि अग्रिम टिकट बुकिङ नखोल्ने बताएका थिए । टिकट बुकिङ खुलेसँगै लामो तथा छोटो दुरीमा चल्ने सार्वजनिक यातायातको टिकट यात्रुले काट्न सक्नेछन् ।

चाडपर्वमा राजधानीबाट हरेक वर्ष लाखौंको संख्यामा मानिसहरू बाहिरिने गरेका छन् । यसपालि पनि करिब १८ लाख यात्रुले काठमाडौं छोड्ने अनुमान गरिएको छ । अग्रिम टिकट बुकिङ खुलेसँगै देशभरका यातायात टिकट काउन्टर टिकट लिनेको भिड लाग्ने गर्दछ ।

यो पटक काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कबाट मात्रै लामो दूरीमा चल्ने सवारीको टिकट काट्न पाउने निर्णय गरेपछि यात्रु गोंगबु नै पुगेर टिकट काट्नु पर्ने भएको छ ।

यसका अलवा यात्रुले अग्रिम टिकट बुकिङ गर्दा बस सेवाबाट अनलाइन टिकट बुकिङ पनि गर्न सक्नेछन् । त्यसैगरी, अनधिकृत काउन्टर, परिचय पत्र, पेशाक नभएका व्यक्तिहरुबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतयाः नियन्त्रण गर्ने तयारी छ ।

दशैंभर अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारी साधनहरु २०८० साल असोज २८ गतेदेखि कात्तिक ८ गतेसम्म नारायणघाटदेखि काठमाडौसम्म सञ्चालन गर्न रोक लगाउने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स